धरान । धरान–१५ साम्पाङ मार्गमा नेपाल प्रहरीबाट अवकास प्राप्त नरबहादुर श्रेष्ठको पुरानो घरमा आगलागीमा परी मृत्यु भएकी आमा धनमायाले छोरी निकाल्ने हुँदा आफू पनि जलेकी छन् ।

आगो लागेको थाहा पाउनेबित्तिकै माथिल्लो तलामा रहेकी अपाङ्ग छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाले पनि ज्यान गुमाउन पुगेकी हुन् । सीता अविवाहित हुन् । आगो लाग्ने बित्तिकै धनमायाले आफ्नी छोरीलाई लिन गएको स्थानीयले देखेका थिए । तर, आगो एक्कासी बढेकाले दुवै जनाको निधन भएको हो । आगलागीको यथेष्ट कारण खुल्न नसके पनि ग्यास चुहिएर हुन सक्ने पछिल्लो अनुमान गरिएको छ ।

पछिल्लो अनुमान केही दरिलो प्रमाणको रूपमा रहेको अनुमान स्थानीयले गरेका छन् । स्थानीयका अनुसार नरबहादुरले बिहानै मात्र ग्यास सकिएका कारणले नयाँ ग्यास ल्याएर छाडिदिएका थिए । ग्यास ल्याएको केही समयलगत्तै चर्को आवाजमा ग्यास पड्किएको स्थानीयले सुनेको स्थानीय तथा महिला अधिकारकर्मी शिला बज्राचार्यले बताइन् ।

‘बिहानै मात्र छोरा (नरबहादुर) ले ग्यास ल्याई दिएको रहेछ’ प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै बज्राचार्यले भनिन्, ‘केही समय पछाडि ठूलो आवाजमा ग्यास पड्किएको पनि सुनेका रहेछन् ।’ प्रहरी पनि ग्यास वा विद्युत् सर्ट भएर आगलागी भएको हो भन्ने विषयमा यकिन हुन सकेको छैन । हाल अनुसन्धानकै क्रममा रहेकाले अहिले नै भन्न सक्ने अवस्था नरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘दुइटै कुरा आइरहेको छ, अनुसन्धानकै क्रममा छौं, कन्फर्म छैन’–डिएसपी न्यौपानेले फोन सम्पर्कमा भने ।

८ः१५ बजेबाट सुरु भएको आगालागी ९ः४० बजे नियन्त्रणमा लिइएको उनले जानकारी दिए । धरान उपमहानगरको दुई वटा दमकल र इटहरी उपमहानगरको दमकल, जनपद, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।