कालाबन्जार । प्रदेश १ सांसद् भीम आचार्यले ग्रामथानहरू कुनै समुदायको सम्पत्ति नभई राष्ट्रिय सम्पत्ति र पहिचान भएकाले यसको संरक्षणमा राज्य नै लाग्नु पर्ने बताएका छन् ।

वराहक्षेत्र–५ नयाँटोलस्थित ग्रामथानको शिलान्यास गर्ने क्रममा सांसद् आचार्यले कुनै जाति विशेषको पहिचान भए पनि संरक्षण गर्नु सबैको दायित्व बन्न जाने बताए । उनले विकसित देशहरू अहिले पुरातात्किव महत्त्वका चिजहरूलाई संरक्षण गर्न जुटिरहेका समयमा नेपालले अहिलेबाटै सुरु गरेमा भविष्यमा यस्ता मौलिक पहिचानका चिजहरूको महत्त्व बढ्ने बताए । उनले यस्ता चिजहरूको खोज अनुसन्धान हुन सकेमा मात्रै जातिको भाषा, संस्कार र संस्कृति संरक्षण हुने बताए । नेपालमा भएका जातजातिहरूको भाषा, संस्कृति कुनै व्यक्ति वा समुदायको नभई सिङ्गो नेपालको राष्ट्रिय सम्पत्ति भएको दाबी गरे ।

उनले ग्रामथानको लागि आफ्नो तर्फबाट थोरै भए पनि बजेट विनियोजन गरेको बताए र आगामी दिनमा थप बजेट विनियोजन गर्न आफू लागि पर्ने प्रतिवद्धता पनि गरे । उनले ५ लाख रुपैयाँ बजेट दिने घोषणा समेत गरे । ५ नम्बर वडा कार्यालयको पहलमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट निर्माणाधीन ग्रामथानको लागि बजेट विनियोजन भएको नयाँटोल ग्रामाथान निर्माण समितिका अध्यक्ष अधिकलाल चौधरीले बताए ।

उनका अनुसार करिब १७ लाख रुपैयाँको लागतमा ग्रामथानको काम सम्पन्न हुने छ । ग्रामथान निर्माणका लागि अमहा सामुदायिक वन उपभोक्ता समूहले पनि सहयोग गरेको छ । स्थानीयले पनि ग्रामथान निर्माणका लागि श्रमदान गर्ने कार्यक्रम छ । कार्यक्रममा वराहक्षेत्रका नगर प्रमुख निलम खनाल, वडा नम्बर ४ का वडाध्यक्ष आशाराम चौधरी, नयाँटोल सयपत्री क्लबका अध्यक्ष दयाराम  चौधरीलगायतको उपस्थिति थियो । मन्दिर असार पन्ध्र गतेसम्म सम्पन्न गरिने निर्माण समितिले जनाएको छ ।