भद्रपुर / दक्षिणी झापाको कचनकवल गाउँपालिका जेठ १६ गते सम्म शिल गरिएको छ । गाउँपालिकामा एकहप्ता अघि कोरोना सङक्रमित भेटिए पछि जेठ ११ गतेसम्म शिल गरिएको थियो । कोरोना सङ्क्रमितको सङ्ख्या थपिदै गएपछि सो पालिकाले निर्णय गरी पुनः शिल गर्ने निर्णय गरेको जनाएको छ ।

हालसम्म ३३ जना कोरोना सङ्क्रमित पुष्टि भइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।
यता जिल्लामै सबै भन्दा बढी सङ्क्रमित भेटिएपछि गाउँपालिकाले क्वारेनटाइनमा बसेकासहित स्वास्थ्यकर्मी, सशस्त्र र नेपाल प्रहरीको पनि स्वाब सङ्लन गरेको  यादवले जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत ल्याब टेक्निसियन र अनमी गरी पाँच जना स्वास्थ्यकर्मी, सशस्त्र र नेपाल प्रहरी गरी २२ जना, गाउँपालिकाका एक जना ट्रयाक्टर चालक र क्वारेनटाइनमा बसेका १३२ जना गरी १६२ जनाको स्वाब सङ्कलन गरिएको छ । त्यसमध्ये जानकी आधारभूत पाठामारीको क्वारेनटाइनमा ३२ जना र महेन्द्ररत्न मावि केचना क्वारेनटाइनमा १०० जना रहेका छन् । उनीहरू सबै भारतको सङ्क्रमित क्षेत्र मुम्बई र दिल्लीबाट समूह बनाएर स्वदेश फर्किएका हुन् ।

स्वाब सङ्कलन गरी उनीहरूको पीसीआर परीक्षणका लागि विराटनगर पठाइसकेको र सोमबारदेखि रिपोर्ट आउने थाल्ने उनले बताए । गाउँपालिकामा यसअघि पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविका क्वारेनटाइनमा बसेका १०५ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिसकेको गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले जानकारी दिए ।

उनीहरूमध्ये ३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो, भने ७२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । भारतबाट आउने क्रम जारी रहेकोले उनीहरूका लागि पनि छुट्टै क्वारेनटाइन बनाइसकेको उनको भनाइ छ । पालिकामा किट अभावका कारण केही दिन स्वाब सङ्कलन रोकिएको अवस्थामा आइतबारबाट शुरु भएको छ ।