बीबीसी /  कोरोनाभाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण तथा साधारण रुघाखोकीका लक्षणहरू मिल्दाजुल्दा भएकाले कस्तो अवस्थामा अस्पताल जाने भन्ने कुराले सर्वसाधारणलाई अन्योलमा पारेको छ।

केही सातायता देशका विभिन्न स्थानमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बेला सर्वसाधारणलाई कोरोनाभाइरस सङ्क्रमण र रुघाखोकी छुट्याउन अप्ठ्यारो परेको देखिएको छ।

तर घरबाहिर ननिस्केका तथा कोभिड(१९ पुष्टि भएको वा सम्भावित सङ्क्रमितको संसर्गमा नआएका व्यक्तिमा रुघा वा खोकी लागेमा स्वास्थ्यकर्मीको सल्लाहमा घरमै उपचार गर्न सकिने विज्ञहरूले बताएका छन्।


बाँके, पर्सा, उदयपुर, कपिलवस्तु, झापा र रौतहट जिल्लमा बढी प्रभावित भएका छन्।

तर मौसम परिवर्तन भइरहेको अवस्थामा साधारण रुघाखोकीको समस्या पनि सर्वसाधारणले भोगिरहेका छन्।

कोभिड १९ सँग केही समान लक्षण भएकाले सर्वसाधारणहरू रुघाखोकी लाग्दा पनि त्रसित हुने गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमणका लक्षणका बारेमा बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा। अनुप बाँस्तोलाले भने, ‘कोभिड–१९ मा मुख्यतया सुक्खा खोकी लाग्छ।’
‘सुक्खा खोकी लागेको पाँच दिनजतिमा निमोनिया हुनसक्छ। त्यसपछि केही व्यक्तिहरुलाई साह्रो हुनसक्छ र भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ।’

अन्य व्यक्तिमा साधारण लक्षण पनि नदेखिने उनले बताए।

छालामा समस्या आउने तथा गन्ध थाहा नपाउने पनि कोभिड–१९ का लक्षण भएको डा बाँस्तोला बताउँछन्।

घरबाहिर नगए कम जोखिम
घरबाहिर ननिस्केका, कोरोनाभाइरस सङ्क्रमण फैलिएको स्थानबाट आएका मानिसको सम्पर्कमा नआएका, सङ्क्रमितको नजिक नगएका व्यक्तिमा रुघा वा खोकी लागेमा चिकित्सकको सल्लाहमा घरमै उपचार गर्न सकिने डा। बाँस्तोलाले बताए।

तर सङ्क्रमण फैलिएको स्थानबाट आएका व्यक्ति, सङ्क्रमित व्यक्तिसँगको सम्पर्क तथा घरका सदस्य सङ्क्रमण फैलिएको स्थानमा गएर घर फर्केका छन् भने कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्ने उनी बताउँछन्।

उनले भने,  ‘अहिलेको परिस्थितिमा यदि रोगग्रस्त क्षेत्रका मानिसहरूसँग सम्पर्क भएको छ र लक्षण देखियो भने चिकित्सकको सल्लाह लिनु नै राम्रो हुन्छ।’  अझ सास फेर्न गाह्रो हुने, उच्च ज्वरो आउने लक्षण छ भने त अस्पताल जानैपर्छ।