भद्रपुर/झापामा धमाधम क्वारेन्टाइन निर्माणलाइ तीब्रता दिइको छ । छिमेकी राष्ट्र भारतबाट नेपाली नागरिक धमाधम स्वदेश फर्किन थालेपछि उनीहरूको उचित व्यवस्थापनका लागि क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनलाइ तीब्रता दिइएको हो । यसको लागि झापाका स्थानीय तहहरु  लागि परेका छन् ।

समाजमा सङ्क्रमण फैलिन नदिन भारतबाट आउनेलाई गाउँघर प्रवेश गर्न नदिई उनीहरूलाई सुरक्षित राख्नलाई अहिले धमाधम जिल्लामा क्वारेनटाइन निर्माण भइरहेको छ । भद्रपुर १ हिमाली चोकस्थित हिमाली माविमा ४६ बेडको क्वारेनटाइनमा निर्माण गरी शनिबारदेखि सञ्चालनमा ल्याइसकेको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि भद्रपुरमा कलवलगुरीमा एक सय बेड र मेची बहुमुखी क्याम्पसमा ३०० बेडको क्वारेन्टाइन निर्माण भइसकेको छ । तर ,ती दुवै क्वारेन्टाइन जिल्लाको स्वामित्वमा रहेकोले नगरपालिकाले नगरवासीका लागि छुट्टै क्वारेन्टाइन निर्माण गरिएको उनले बताए । निर्माण गरिएको क्वारेनटाइन व्यवस्थित बनाएको उनले जनाए । चार वटा बल्क छुट्टाएको क्वारेन्टाइनमा महिलाका लागि छुट्टै व्यवस्था गरिएको उनको भनाइ छ ।

क्वारेन्टाइनमा बस्नेहरूका लागि फ्री बाइफाई, टेलिभिजन, पढ्ने किताब लगायतको व्यवस्थासहित चार वटा ब्लकमा छुट्टाछुट्टै शौचालय राखिएको छ । उनीहरूलाई चाहिने आवश्यक सामग्रीसहित खाना र खाजा पनि उपलब्ध गराइनेछ । क्वारेनटाइन्को सुरक्षा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी खटाइने छ । त्यहाँ नगरपालिकाकै स्वास्थ्य शाखाका दुई कर्मचारी समेत खटाइने उनले बताए ।

दुई तले माविको भवनको तल्लो भवन क्वारेन्टाइनका लागि बनाइएको छ । आवश्यक परेको खण्डमा माथिल्लो भवन पनि प्रयोग गर्नुका साथै नगर क्षेत्रमा रहेका धर्मशाला, सामुदायिक भवन, विद्यालयलाई पनि क्वारेनटाइन बनाउने नगरको योजना रहेको छ । नगरपालिकासँग एम्बुलेन्स नभएकोले हाललाई हिमाली माविको बस नगर क्षेत्रमा प्रयोगमा ल्याउने निर्णय भइसकेको उनको भनाई छ ।

उनका अनुसार नगरमा बसोबास गर्ने तर काम तथा अध्ययनको सिलसिलामा भारत पुगेर फर्किने व्यक्तिको तथ्याङ्क सङ्कलनको कार्य वडामार्फत धमाधम भइरहेको छ । उनीहरूलाई आउने बित्तिकै क्वारेन्टाइनमा १४ दिनका लागि राखिने छ । उनीहरूको स्वास्थ्य परीक्षण गरेर मात्र त्यसपछि घर पठाइने उनले बताए ।  भद्रपुरको क्वारेन्टाइनलाई जिल्लामै नमुना क्वारेन्टाइनको रूपमा सञ्चालन गर्न विभिन्न बुँदामा निर्णय समेत गरिएको छ । 

कचनकवलमा थप क्वारेन्टाइन निर्माण

केही दिन यता ३३ जना कोरोनाका बिरामी फेलापरेको कचनकवल गाउँपालिकामा धमाधम क्वारेनटाइन निर्माण भइरहेको छ ।

कचनकवलमा अहिलेसम्म २३० बढी नेपाली नागरिक भारतबाट फर्किसकेका छन् । उनीहरूलाई विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । थप नेपाली नागरिक आउने देखिएपछि गाउँपालिकाले लक्ष्मी मावि बनियानीमा एक सय तीस बेडको व्यवस्थित क्वारेन्टाइन निर्माण गरिसकेको गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले जानकारी दिए । गाउँपालिकामा अहिलेसम्म ४ सय बेडसम्मको क्वारेन्टाइन निर्माण भइसकेको उनले बताए ।