धरान । सरकारले आइतबार दिने भनिएको मुस्लिम धर्मालम्बीको इद उल फित्रको बिदा सोमबारका लागि सारेको छ ।

नेपालमा शनिबार चन्द्रमा नदेखिएको भन्दै मुस्लिम आयोगको आग्रहका आइतबार भनिएको बिदा सोमबारका लागि सारिएको हो । मन्त्रिपरिषद्ले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णयअनुसार आइतबार बिदाको लागि घोषणा समेत गरिसकेको थियो । 

तर, अचानक शनिबार राति चन्द्रमा नदेखिएकापछि बिदा सरेको मुस्लिम आयोगका जिल्ला सदस्य फिरोज अलीले जानकारी दिए । एक महिने लामो रोजापछि इद उल फित्र मनाउने गरिन्छ । काठमाडौं जामे मस्जिदका अबुबकर सिद्दिकी कास्मीले एक विज्ञप्ति जारी गर्दै चन्द्रमा नदेखिएकाले इद उल फित्र सोमबार मात्रै मनाउनका लागि सबैलाई आह्वान गरेका छन् । आइतबार ३० औं दिनको रमदान हुने विज्ञप्तिमा उल्लेख छ ।