भद्रपुर / वजार अनुगमन टोलीले भद्रपुरका तीनवटा औषधी पसलबाट विभागमा दर्ता नभएका औषधी बिक्री गरिरहेको फेला पारेको छ ।

लकडाउनको बेलामा औषधी पसलले मास्क, पञ्जा तथा सेनिटाइजर बढी मूल्यमा बिक्री गरेको जन गुनासोपछि चन्द्रगढी तथा भद्रपुरका औषधी पसलको आइतबार गरिएको अनुगमनको क्रममा यस्तो फेला पारेको हो ।

चन्द्रगढी तथा भद्रपुरका १२ वटा औषधि पसलको अनुगमनमा दुर्गा मेडिकल हल भद्रपुर, कृपा फार्मेसी चन्द्रगढी र सङ्गम औषधालयबाट विभागमा दर्ता नभएका औषधि र खाद्य पूरक औषधी फेला पारी बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा औषधी व्यवस्था विभाग बिराटनगर, घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर नगरपालिका, झापा उद्योग वाणिज्य सङ्घको संयुक्त अनुगमन टोली परिचालित भएको थियो । ती औषधि बिक्रेतालाइ लकडाउनपछि औषधि व्यवस्था विभाग बिराटनगरमा उपस्थित हुन निर्देशन दिएको बिभागका निमित्त प्रमुख सञ्जीब शर्मा कट्टेलले जनाए ।

अनुगमनको क्रममा बिक्रेताले बिल नदिने गरेको, कस्मेटिक सामान बिक्री गरेको, नविकरण नगरिएका पसललाई सचेत पत्र दिइएको र फेरि पनि भेटिए जरिवाना गरिने बजार अनुगमनका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी राई, औषधि व्यवस्था विभाग बिराटनगर निमित्त प्रमुख शर्मा कट्टेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख छबिलाल खतिवडा र दुर्गा बाँस्तोला, स्वास्थ्य कार्यालयका ईश्वरी पौडेल, भद्रपुर नगरपालिका राजेन्द्र ढकाल र झापा उद्योग वाणिज्य सङ्घघका महासचिव पङ्कज कुमार शर्मा रहेका थिए ।