धरान । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ पुरानो बैंकलाइनका आगलागी पीडितहरूलाई ताप्लेजुङ सुनसरी सरोकार समाजले राहत स्वरूप आर्थिक सहयोग पठाएको छ ।

गत शुक्रबार ताप्लेजुङमा जन्मिएर विभिन्न सुनसरी जिल्लामा छरिएर रहेका ताप्लेजुङबासीहरूले दिएको एक लाख ३६ हजार ५ रुपैयाँ नगद पठाइएको हो । फुङलिङमा रहेको नेपाल बैंक लिमिडेटमा स्थापना गरिएको विपद् कोषमा धरानको नेपाल बैंकबाट रकम पठाइएको समाजका महासचिव बासुदेव गौतमले जानकारी दिए ।

वैशाख १९ गते राति करिब १० बजेतिर आगलागी हुँदा ७ वटा घरमा पूर्ण क्षति पुगेको थियो भने आगलागीबाट सुरक्षित गर्नका लागि एउटा घर भत्काइएको थियो । करिब ३२ परिवार पूर्णरूपमा प्रभावित बनेका थिए भने करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो । सुनसरीको धरानमा समाजले केन्द्रीय कार्यालय स्थापना गरेको छ । समाजका सल्लाहकार, सदस्यहरूले स्वइच्छाले रकम प्रदान गरेका थिए ।