भद्रपुर । भद्रपुरको वडा प्रहरी कार्यालय र भद्रपुर नगरपालिकाको नगर प्रहरीले तरकारी व्यवसायीमाथि हातपात गरेका छन् ।
घटनाको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीले दुई दिनदेखि नगर क्षेत्रमा तरकारी बेचबिखन बन्द गरेका छन् । प्रहरी दमनविरुद्ध उचित न्यायका लागि उनीहरू आइतबार झापा उद्योग वाणिज्य सङ्घलाई तरकारी पसलका साँचो बुझाएर प्रहरीविरुद्ध नाराबाजी लगाउँदै बेच्न नपाएर कुहिएको तरकारी तथा सागसब्जी भद्रपुर नगरपालिकाको गेट अगाडि फालेर विरोध समेत जनाए ।
तरकारी व्यवसायी सन्तोष यादव र सुशील यादवको नेतृत्वमा गएका दुई दर्जन व्यवसायीहरूले झापा उद्योग वाणिज्य सङ्घ भद्रपुर कार्यालय परिसरमा भेला भई प्रहरी दमनविरुद्ध न्याय माग्दै नाराबाजी गरेका थिए । उनीहरूले सङ्घका अध्यक्ष नवराज पनेरुलाई साँचो बुझाएका थिए ।
जिल्ला समन्वय समिति भद्रपुरमा शुक्रबार दिउँसो कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको सर्वपक्षीय बैठकले जिल्लामा लकडाउन खुकुलो बनाउँदै जाने भन्दै बिहान ८ बजेदेखि १२ बजेसम्म पसल खोल्न पाउने भनी निर्णय गरेको थियो ।
निर्णय बमोजिम भद्रपुर बजारमा तरकारी व्यवसायीहरूले पसल थापेर कारोबार गर्दा हाटबजार लगाउन खोजिएको भन्दै वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरी, नगर प्रहरीसहित गएको प्रहरी टोलीले व्यवसायीसँग सहकार्य र समन्वय नगरी पसल बन्द गराउँदै हातपात गरेको व्यवसायीहरूले आरोप लगाएका छन् । पुरीले पसलका ढक तराजुसहित केही व्यवसायीलाई नियन्त्रणमा लिएर गएको व्यवसायी सुशील यादवले बताए ।
पुरीसहित आएको प्रहरी टोलीले सहकार्य र समन्वय गर्नु साटो उल्टै ठुलै अपराध गरे झै व्यवसायीमाथि हातपात गरेको व्यवसायी सन्तोष यादवले बताए । प्रहरीको दमनविरुद्ध तरकारी व्यवसायी आन्दोलित बनेको उनले जनाए । भद्रपुरमा हाटबजार लगाउन खोजिएको भन्दै पसल बन्द गर्न लगाएको पुरीको भनाइ छ । व्यवसायीमाथि हातपात नगरेको उनले जनाए ।
तरकारी व्यवसायी आन्दोलित बनेपछि झापा उद्योग वाणिज्य सङ्घको गम्भीर ध्यानाकर्षण भएको सङ्घका अध्यक्ष नवराज पनेरुले बताए । स्थानीय सरकारले आन्दोलित बनेका व्यवसायीको पक्षमा केही नगरेमा सङ्घले जिल्ला तहदेखि केन्द्रसम्म यस बारेमा लिखित रूपमै ध्यानाकर्षण गराउने उनले बताए ।