धरान । धरानमा हरियो सब्जीको खपत सामान्य बेलाभन्दा लकडाउनमा ह्वात्तै बढेको पाइएको छ । र मूल्यमा पनि २५ प्रतिशत सस्तो रहेको छ ।

सामान्य बेला दैनिक ६० टन सब्जी खपत हुने धरानमा अहिले औसतमा ८० टन खपत भइरहेको छ । धरान–१३ को कृषि उपज बजार स्थलका अनुसार सामान्य बेलाभन्दा दैनिक औसतमा २० टन बढी खपत भइरहेको छ । यो ट्रेण्ड बढ्दो छ । बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सामान्य अवस्थामा भन्दा लकडाउनका बेला धरानमा तरकारी खपत बढेको छ । उनले भने, ‘सामान्य अवस्थामा भन्दा लकडाउनमा सब्जी खपत बढ्दो छ । लकडाउनको पन्ध्रदिन यता यो ट्रेण्ड बढ्दो छ ।’

धरानमा सामान्य अवस्थामा हरियो सब्जी, फलफूल, मसलाजन्य, दलहन, खसीबोका र विविध गरी एक करोड २५ लाख रुपैयाँ बराबरको कारोबार हुँदै आएको थियो । अहिले हरियो सब्जीबाट मात्रै ४० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । यो सामान्य अवस्थाभन्दा १० लाख रुपैयाँले बढी हो । यता मूल्यमा पनि २५ प्रतिशतको हाराहारीमा सस्तो रहेको छ । सामान्य बेला प्रतिकेजी ४०–४५ रुपैयाँमा पाउने टमाटर अहिले २०–२५ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । त्यस्तै खरबुजा ६०–८० रुपैयाँसम्म बिक्री हुने गरेकोमा अहिले ३५–४० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको व्यवस्थापक भट्टराईले बताए । उनका अनुसार यो खुद्रा मूल्य हो ।

सामान्य बेलामा पूर्वका इनरुवा, बिर्तामोड, विराटनगर, पश्चिमका नारायणघाट, ढल्केबरका थोक बजार नियमित सञ्चालन हुन्थे भने लकडाउन सुरु भएपछि ती बजारहरू नियमित सञ्चालन हुन सकेका छैनन् । र, त्यहाँका सब्जीहरू धरान बजारमा आएका कारणले पनि सब्जीको भाउ विगतको तुलनामा केही सस्तो भएको उनको भनाइ छ । लकडाउनका कारण धरानमा मासु खपत स्वात्तै घटेका कारण सब्जीको बिक्री ह्वात्तै बढेको हो । धरानमा कुखुरा, सुँगुर, खसीबोका, राँगा गरी दैनिक सरदर १२ हजार ५ सय केजी मासु बिक्री हुँदै आएको थियो ।

लकडाउनका कारणले अहिले तथ्याङ्क नै अनुमान गर्न नसकिने अवस्था रहेको मासु व्यवसायीहरू नै बताउँछन् । मासु व्यवसायी तथा प्राविधिक संघका उपाध्यक्ष ओम कटुवालले सामान्य बेलामा दैनिक करिब ८ देखि ९ हजार केजी कुखुराको मासु बिक्री हुने गरेको थियो भने अहिले २ हजारदेखि २५ सय केजी मासु मात्रै खपत भइरहेको छ । मासु खपत घट्नुमा होटल, रेष्टुँरा व्यवसायहरू बन्द रहेकाले घटेको उनले बताए ।

धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङका अनुसार धरानमा सामान्य बेलामा कुखुरा, राँगा, सुँगुर, खसीबोकालगायत गरी ४० देखि ४५ लाख रुपैयाँको मासु बिक्री हुने गरेको तथ्याङ्क निकालिएको थियो । उनले दिएको तथ्याङ्कका आधारमा १२ हजार ५ सय देखि १३ हजार केजी मासु दैनिक बिक्री हुँदै आएको थियो । तर, अहिले मुस्किलले ३ हजार केजी मासु बिक्री भइरहेको छ । यसैआधारमा पनि धरानमा सब्जीको खपत ह्वात्तै बढेको छ ।

मासु पसलहरू निर्वाध रूपमा खोल्न दिइएको छैन भने सब्जी पसलहरू लकडाउनको अवधिमा पनि निर्वाध रूपमै खुलिरहेका छन् ।