धरान । पुस्तक पसल खोल्ने केन्द्र सरकारको निर्णयअनुसार धरानका पसललाई समय तालिका दिएर स्थानीय सरकारले खोल्ने अनमुति दिएको छ ।

स्थानीय सरकारले साताको दुई दिन खोल्ने अनुमति दिएको हो । सातामा सोमबार र बिहीबार दुई दिन खोल्न दिने गरी समय तालिका मिलाइदिएको हो । केन्द्र सरकारको निर्णयअनुरूप बिहान १० बजेदेखि साँझको ५ बजेसम्म मात्रै खोल्न पाउने छन् । तर, पुस्तक पसलले अनिवार्य रूपमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको किताबहरू बिक्री गरेको हुनुपर्ने नियम रहेको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रकाश सापाकोटाले जानकारी दिए ।

‘केन्द्र सरकारको निर्णयअनुसार धरानमा पनि पुस्तक पसल खोल्न दिने निर्णय भएको छ, सातामा दुई दिन मात्रै खोल्न पाउने गरी व्यवस्था गरेका छौं’ उनले फोन सम्पर्कमा भने, ‘तर, जनक शिक्षा सामग्री केन्द्रको पुस्तक बिक्री गरेको हुनुपर्ने नियम छ ।’ उनका अनुसार केन्द्र सरकारले निर्णय गरे समय तालिका भने स्थानीय तहले नै निर्धारण गरेको हो । सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता खाद्यान्न र तरकारीबाहेकका पसलहरू पूर्ण ठप्प थिए ।

लकडाउन जेठ ५ गतेसम्म तोकिएको भए पनि सरकारले केही क्षेत्रहरू खोल्न दिने गरी निर्णय गरेको छ । विकास निर्माणका कामदेखि कृषिसम्मका कामहरू सरकारले खोलेको हो । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै भीडभाड हुने क्षेत्रहरू भने हालसम्म पनि खोलेको छैन । नेपालमा ११० जनामा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । हालसम्म ३० जना डिस्चार्ज भएकोमा पुनः ३ जनामा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

अनुमति नलिएका पसललाई सचेत गराइँदै

धरान उपमहानगरको अनुगमन समितिले दैनिक बजारको अनुगमन गरिरहेको छ । आइतबार पनि गरिएको अनुगमनमा धेरै पसलहरूले स्थानीय वडासँग अनमति नलिई पसल खुल्ला गरेको पाइएपछि सचेत गराउँदै छाडिएको छ । केही व्यक्तिहरूले सब्जी पसलसमेत खोलेको पाइएको थियो । दैनिक ज्यालादारी गर्दै आएका मजदुरहरूले लकडाउनको अवधिमा आफूखुसी सब्जी बिक्री गरेको भेटिएपछि उनीहरूलाई पनि सचेत गराउँदै छाडिएको अनुगमन समितिका सहसंयोजक नेत्र काफ्लेले जानकारी दिए । हाल धरान–१५, धरान–४ का पसलहरूमा अनुगमन भइरहेको उनले जानकारी दिए ।