धरान । भोलि (आइतरबार) देखि बैंक तथा वित्तीय संस्थाहरू खुल्ने भएका छन् ।
मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णयअनुसार आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्था खुल्ने भएका हुन् । सरकारले लकडाउनको समयमा सीमित समयसम्म मात्रै बैंक खोल्ने अनुमति दिएको थियो । अब भने सामान्य बेलामा झैं बैंक तथा वित्तीय संस्था खोल्न पाउने भएको हो । सरकारले बैंक तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सरकारी संस्थामार्फत् अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाई कर्मचारीबाट आलोपालो प्रणालीमा सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षाका आवश्यक मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याउने तयारी थालेको छ । नेपाल बैंकर्स संघले सबै बैंकको शाखाहरू सञ्चालनमा ल्याउन आग्रह गरेको छ । एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश गर्न नदिने, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य उपकरण अनिवार्य लगाएको हुनुपर्ने मापदण्ड बनाएको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेपछि बैंक तथा वित्तीय संस्थाहरू बन्द रहेका थिए । आंशिक रूपमा मात्रै खुल्ला गरिएको थियो ।