झापा / झापाका सम्पूर्ण उद्योग तथा बाणिज्य संघहरुले उद्योगी–व्यवसायीका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले शुक्रवार प्रधानमन्त्री, मुख्यमन्त्री, जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

१० बुँदे मागसहितको ज्ञापन पत्र शुक्रवार भद्रपुरमा एक कार्यक्रमकाबीच उद्योग तथा वाणिज्य संघका अध्यक्षहरुले जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई हस्तान्तरण गरेका थिए ।
जिसस प्रमुख पोर्तेल र प्रजिअ रानामगरमार्फत छुट्टाछुट्टै रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शेरधन राईलाई समेत ज्ञापन पत्र पठाइएको छ । आफ्ना माग समयमै पूरा नभए सबै उद्योग व्यवसायका तालाचावी सरकार र बैंकहरुलाई बुझाएर आन्दोलनमा उत्रन बाध्य हुने उद्योग तथा वाणिज्य संघहरुले चेतावनी दिएका छन् । ‘आन्दोलनमा उत्रनु पर्ने बाध्यात्मक अवस्था आए त्यो क्षण अकल्पनीय हुने अग्रिम स्मरण गराउँदछौंं’– ज्ञापन पत्रमा भनिएको छ ।

कोभिड –१९ महाभारी नियन्त्रणका लागि भएको लकडाउनबाट सबैभन्दा बढी पीडित र ठूलो क्षति उद्योग –व्यवसायले व्यहोरेको तथा कतिपय उद्योग व्यवसाय कहिल्यै उठन नसक्ने गरी डुब्न लागेका उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
‘बैंकको व्याज बढीरहेको तर उद्योग व्यवसाय भने बन्द रहेकाले समस्यामा परेको उनीहरुकोभनायृ छ ।
यो अवस्थामा मुलुकमा धरासायी बनेका उद्योग–व्यवसाय टिक्न सक्ने वातावरणका लागि ब्याज तथा कर छुट, राहत लगायतका विशेष प्याकेज घोषणा गर्न सरकार समक्ष माग गरिएको छ ।

विकसित तथा विकाशोन्मुख सबै प्रकारका मुलुकका सरकारले उद्योग व्यवसाय टिकाउनका लागि खर्बौं रुपैयाँका राहत प्याकेज घोषणा गरेको स्मरण गराउँदै ज्ञापन–पत्रमा लेखिएको छ– ‘हाम्रो मुलुकमा सरकार र माहतहतका प्रतिनिधिबाट बैंक व्याज नघट्ने, उद्योगी व्यवासायीलाई कुनै पनि विषयमा छुट नहुने, बरु कर बढ्ने अभिव्यक्ति आउँदा हामी थप पीडित बनेका छौं ।’

अन्यौल र पीडा बढ्दै गएपछि बैशाख २३ गते बिर्तामोड उद्योग वाणिज्य संघको आयोजना तथा सम्वाद समूहको संयोजनमा झापाका सम्पूर्ण उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश नं १ का प्रतिनिधिको संयुक्त वैठक बसी वर्तमान अवस्थालाई सहज बनाउन विभिन्न उद्योगी–व्यवसायीका समस्या र अघि बढाउने मागहरु पहिचानसहित दश बुँदे निर्णय गरिएको उनीहरुले जनाएका छन् । उक्त निर्णयहरुलाई आफ्ना समस्या र मागका रुपमा सरकारसमक्ष प्रस्तुत गरेको जनाउँदै सरकारले समयमै उद्योगीव्यवसायीको आवाज सुन्ने र माग सम्बोधन हुने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले जिसस प्रमुख पोर्तेललाई र गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जितबहादुर कार्कीले प्रजिअ राना मगरलाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा उद्योग तथा वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो ।