धरान । सामान्य नागरिक कसैले व्यक्तिगत रूपमा २१ लाख रुपैयाँ देला ? दिँदैन भन्ने सोच्नु भएको छ भने धरानका ७९ वर्षीय एक नागरिकले ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा २१ लाख रुपैयाँ सहयोग गरेर उदाहरणीय कार्य गरेका छन् ।
धरान–१ लक्ष्मीचोकका ७९ वर्षीय धनञ्जयप्रसाद आचार्यले नेपाल सरकारले कोरोना रोगबाट बच्न निर्माण गरेको कोषमा एक महिना अघि २१ लाख रुपैयाँ सहयोग गरेका हुन् । उनले धरान उपमहानगरपालिकालाई २ लाख रुपैयाँ पनि सहयोग गरेका थिए । व्यक्तिगत रूपमा उनले सरकारलाई २३ लाख रुपैयाँ सहयोग गरेका हुन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौंले उनलाई धन्यवाद ज्ञापन गरेको छ ।
मन्त्रिपरिषद्ले वैशाख २३ गते प्रकाशित गरेको धन्यवाद पत्रमा धरानका आचार्य सबैभन्दा बढी रकम दिनेमध्येमा दोस्रो नम्बरमा रहेका छन् । पहिलोमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ । जसले ५० लाख रुपैयाँ सहयोग गरेको छ । व्यक्तिगत रूपमा हालसम्म सबैभन्दा बढी आचार्यले नै सहयोग गरेका छन् । अन्य सबै संस्थागत रूपमा आएको छ । पूर्व क्लिन इनर्जी बैंकमा अध्यक्षको रूपमा कार्यरत उनी हाल अवकासप्राप्त व्यक्ति हुन् ।
उनले भने, ‘अमेरिका, इटाली, चीन जस्ता सम्पन्न देशमा कोरोनाका कारणले मान्छे भकाभक मर्दैछन्, पैसाको के काम, भोलि मरिन्छ कि पर्सी ?’ मृत्युपछि पैसाको केही काम नआउने भएकाले कोरोना लागेर उपचाररतहरूलाई सहयोग होस् भनेर व्यक्तिगत रूपमा रकम सहयोग गरेको उनले बताए । धरान उपमहानगरलाई भने उनले २० दिन अगाडि सहयोग गरेका थिए । उनले यस्ता सहयोग धेरैले गरिसकेका छन् । तर, उनले त्यस्ता देशहरूबाट पाठ सिकेर यहाँका सरकारले पनि स्थानीय व्यापारी व्यवसायीहरूलाई यसबारे बुझाउनु पर्ने बताए । उनले भने, ‘सहयोग गर्नुस् भन्नुपर्छ । अनिमात्रै सहयोग हुन्छ । व्यवसायीहरूलाई यसबारे बुझाउनुप¥यो ।’
उनले धरान नगरले स्थापना गरेको कोषमा अहिले पनि ३०–३५ लाख रुपैयाँभन्दा माथि संकलन नभएको पाउँदा आफूलाई निकै दुख लागेको बताए । ‘यतिखेरसम्म ३–४ करोड उठिसक्नु पर्ने हो, तर छैन’ उनले भने, ‘माग्नुपर्छ, अनिमात्रै सहयोग जुट्छ ।’ उनले धरान उपमहानगरले अहिले विकास बजेट कटौती गर्दै गरेको सुन्दा निकै दुःख लागेको बताए । ‘विकास बजेटले विकासको काम गर्ने हो, राहतमा खर्च गर्ने होइन, राहतका लागि व्यापारी–व्यवसायीसँग माग्ने हो’–उनले भने ।