धरान । धरान–९ नम्बर वडाभरि बिक्री वितरण गर्ने गरी अनुमति लिएका एक व्यवसायीले धरान–१६ मा सब्जी बिक्री वितरण गर्दै गरेको भेटिएपछि धरान उपमहानगरको अनुगमन समितिले कारबाही गरेको छ ।
यसअघि पनि भेटिएका व्यवसायी हरेराम चौधरीलाई लकडाउन अवधिभरि बिक्रीवितरण गर्न नपाउने गरी अनुमति पत्र खोसिएको छ । धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत बेदप्रकाश सापकोटाका अनुसार बुधबार साँझ ५ बजेतिर धरान–१६ को सुकुम्बासी बस्ती क्षेत्रमा तरकारी बेच्दै गरेको भेटिएपछि पक्राउ गरिएको थियो । पटकपटक गल्ती गरेको पाइएपछि लकडाउन अवधिभरि खरिदबिक्री गर्न नपाउने गरी अनुमति पत्र (पास) खोसिएको हाे ।
बिहीबार बिहान बसेको धरान उपमहानगरको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए । चौधरीले प्रयोग गरेको १–०२००२ च ३६५३ नम्बरको ढुवानी गाडीको पास खोसिएको हो । यसअघि पनि धरान–९ नम्बर वडाकै पास लिएर धरानभरि सब्जी डुलाएर बेचेको आरोपमा धरान–१६ बाट नै पक्राउ परेका थिए । त्यसबेला सचेत गराएर छाडिएको थियो ।