धरान / आज बसेकोमन्त्री परिषद बैठकले लकडाउन लम्ब्याए पनि विकास निर्माणका काम र उद्योगहरु भने खुला गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइने बताइएको छ ।

तर एउटा स्थानमा काम गर्न१०जनालाईमात्र अनुमति दिइएको छ ।  यसरी काम गर्दा दैनिक स्वास्थ्यजाँच गर्नुपर्नेछ भने कामदारका लागि एकै स्थानमा आवासको व्यवस्था गर्नुपर्ने सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले ढुंगा गिट्टी वालुवालगायतका निर्माण सामग्रीको उत्पादन, संकलन र ढुवानी गर्न समेत अनुमति दिएको छ । सिमेन्ट उद्योगका लागि चाहिने चुन ढुंगा, क्लिङ्कर लगायतको उत्पादन र ढुवानी गर्न दिनेभएको छ । यस्तै नदी नियन्त्रणका कामहरु पनि गरिने भएको छ ।

यस्तै जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति दिएर पुस्तक पसलहरु पनि खोल्न अनुमति दिइएको छ ।
ढुवानीका सवारी साधनका चालक तथा सहचालकलाई खानाको प्याकेट मात्र विक्री गर्ने गरी राजमार्गमा ५० किलोमिटरको दुरीमा होटल खोल्न दिने निर्णय भएको खतिवडाले जानकारी दिए ।

ढुवानी गर्न के के पाइने

  • कृषि उत्पादनसँग सम्बन्धी सामग्री,
  • विद्यालयका पाठ्यपुस्तक,
  • विकास आयोजनाका निर्माण सामग्री


केके अझै खुलेनन

  • शैक्षिक संस्था,
  • तालिम तथा प्रशिक्षक केन्द्र,
  • गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल,
  • धार्मिक स्थलहरुमा भेला,
  • रंगशाला, फुटसल,
  • जिमखाना,
  • शैलुन,
  • होटल बार,
  • यात्रुबाहेक सवारी साधन

४२ प्रकारका उद्योग २६ गतेदेखि खुल्ने

सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ ।

खाद्यन्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय भएको हो । तर उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने सुरक्षाका अपानाउनुपर्ने प्रावधान राखिएको छ ।