धरान । हङकङमा रहेका धरानेहरूले धरान उपमहानगरले स्थापना गरेको फुड बैंकमा ४ हजार केजी चामल वितरण गरेका छन् ।
एनिस लिम्बू, द जङ्गल रेष्टुरेन्ट एण्ड बार र मेड्ली रेष्टुरेन्ट एण्ड बारले सङ्कलन गरेर पठाएको २ लाख रुपैयाँ बराबरको चामल उपमहानगरको फुड बैंकलाई हस्तान्तरण गरिएको हो । बुधबार एनिस लिम्बू र धरानबाट समन्वय गरेका नेपाल तरुण दलका सुनसरी जिल्ला कार्यवाहक सभापति सन्तोष विकले धरान उपमहानगरका प्रमुख तिलक राईलाई चामल हस्तान्तरण गरेका छन् ।
धरान उपमहानगरले विपन्न तथा दैनिक ज्यालादारीमा कार्यरत मजदुरका लागि चैत १७ गते फुड बैंक स्थापना गरेको थियो । एकद्वार प्रणाली अपनाउने उद्देश्यले स्थापना गरिएको फुड बैंकमार्फत् नै हङ्कङमा रहेका धरानबासीहरूले सहयोग गरेको धरानका समन्वयकर्ता सन्तोष विकले जानकारी दिए । राहत प्राप्त गरिसकेपछि नगरका प्रमुख तिलक राईले हङकङबासी धरानेलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘हङकङबासी धरानेहरूले विगतमा पनि सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’
धरानका विभिन्न वडाबाट हङकङमा बसोबास गर्दै आएका धरानेहरूबाट रकम संकलन गरिएको हङ्कङबाट प्रतिनिधिको रूपमा सहभागी एनिस लिम्बूले बताए । यसैक्रममा धरान–२ की ८२ वर्षीया मैया राईले पनि धरान उपमहानगरलाई एक लाख १ हजार ५० रुपैयाँ सहयोग गरेको छ । नगर प्रमुखलाई आफै बाेलाएर उनले सहयाेग गरेकी थिइन् ।