धरान । किरात राई समुदायले हरेक वर्ष मनाउँदै आएको साकेला उभौली–२०७७ वैशाखे पूर्णिमा (यलम्बर संवत् ५०८०) यसपटक घरघरमै मनाउनका लागि किरात राई यायोक्खा सुनसरीले आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीका कारणले किराया सुनसरीले समूहगत रूपमा उभौली नमनाई घरघरमै उभौली पूजा गर्न आग्रह गरेको हो । किराया सुनसरीको वैशाख १५ गतेको भेलाले भोलि (वैशाख २५) बाट सुरु हुन लागेको साकेला उभौली ढोलझ्याम्टाका साथ नमनाई घरघरमै पूजाआजा गरी मनाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे किराया सुनसरीले वैशाख १५ गते विज्ञप्ति प्रकाशित गर्दै किरात राई जातिलाई विधिपूर्वक घरमै मनाउन आग्रह गरिएको छ ।

किराया सुनसरीले पन्ध्र दिनसम्म सुनसरीका विभिन्न स्थानमा साकेला सामूहिक कार्यक्रम गर्दै आएको थियो । किराया सुनसरीमा आबद्ध रहेका उपमहानगर, नगर, प्रारम्भिक कार्य समिति (प्राकास), भाषिक भातृ संस्थाहरूले विभिन्न स्थानमा सामूहिक साकेला मनाउँदै आएकोमा यसपटक कोरोना भाइरसका कारणले घरमै मनाउन आग्रह गरेको सुनसरीका अध्यक्ष बलराम राई र सचिव राजेन्द्र राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
किराया सुनसरीले गर्दै आएको प्राकास स्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीसमेत यसपटक नहुने विज्ञप्तिमा उल्लेख छ ।

kiraya_sunsari_Memorendam