कालाबञ्जार । सुनसरीको रामधुनी नगरपालिकाले वितरण गरेको राहतको चामल गुणस्तरहीन भएको गुनासो बढेपछि नेपाली काङ्ग्रेस नगर समितिले छानबिनको माग गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्र्दै राहत वितरणका लागि खरिद गरिएको चामलको गुणस्तरदेखि महँगो मूल्य भएको विषयमा के भएको हो भन्दै छानबिनको माग गरेको हो । नगर सभापति सुदीप अधिकारीले राहत वितरणमा आएको गुनासोलाई सम्बोधन गर्नका लागि निस्पक्ष छानबिन हुनुपर्ने, सर्वदलीय संयन्त्रमार्फत् अनुगमनको काम गरिनुपर्ने, राहत वितरण कार्य तत्काल गरिनुपर्ने माग राखिएका छन् ।
नगरका मेयर जयप्रकाश चौधरीलाई मागसहितको विज्ञप्ति प्रदान गरिएको छ । विज्ञप्तिमा खाद्य सामग्री खरिदमा भएको अनियमितता, खाद्य सामग्रीको गुणस्तर, र वितरणमा भएको विषयमा निस्पक्ष छानबिन गर्नुपर्ने सभापति अधिकारीले माग गरे । नगरपालिकाले झुम्कास्थित गृहलक्ष्मी राइस मिललाई ग्रेडेड मन्सुली ५१ रुपैयाँ ७५ पैसामा प्रतिकेजी प्राप्त गर्ने गरी सम्झौता गरेको थियो । वैशाख ७ गते राहतका लागि चामल आपूर्ति गर्ने सम्बन्धमा ठेक्का आह्वान गरिएको थियो ।
जसमा गृहलक्ष्मीले सबैभन्दा कम मूल्यमा सूची प्रस्तुत गरेपछि उसलाई सम्झौता गरिएको थियो । मेयर चौधरीले राहतको चामलका विषयमा व्यापक गुनासो आएकाले पनि छानबिन गरिने प्रतिवद्धता जनाए । उनले निस्पक्ष छानबिनका लागि चाँडै नै समिति बनाएर दोस्रो चरणको राहत पनि वितरण थालिने बताए ।