भद्रपुर / सीमा नाका सिल भएको अवस्थामा आइतबार विहान झापाको दक्षिण कचनकवल–४ स्थित खुट्टामनीबाट नेपाल प्रवेश गर्न खोज्ने करिब १५ जना भारतीयलाई सीमामा खटिएका नेपाल प्रहरीले फिर्ता पठाएका छन् ।
नेपालतर्फ खेती गर्न जान पाउनु पर्ने भन्दै जबरजस्ती गरेपछि प्रहरीले उनीहरुलाई अवरोध गरेको थियो । विहान ५ बजे भारतीय नेपाल प्रवेश गरेका थिए । १२० पिल्लर छेउमा खटिएको चार जना प्रहरीले उनीहरुलाई फिर्ता पठाउन खेदाएका थिए । थोरै टोली देखेर भारतीयले प्रहरीलाई झम्टिएका थिए । नजिकै रहेको क्याम्पमा रहेका थप प्रहरी आएपछि उनीहरु भागेका थिए । भाग्नेक्रममा हँसिया फाल्दा एक जना प्रहरीको हातमा सामान्य चोटसमेत लागेको थियो ।
दक्षिणी क्षेत्रका सीमामा रहेका भारतीयले नेपालतर्फ खेती लगाएका छन् । अहिले उनीहरू अधिकांशले लगाएको मकै पाक्ने वेला भएको छ । त्यही क्रममा भारतीय कृषकको टोली नेपाल प्रवेश गर्न खोजिरहेका छन् । खेती गर्न भारतबाट आउने भारतीयका कारण सीमामा समस्या उत्पन्न भएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । प्रहरीले भारततर्फ सीमामा बस्ने एसएसबीसँग सहकार्य गरेर उनीहरूलाई भारत फर्काइएको उनले बताए ।
सीमा क्षेत्रमा रहेका भारतीय नागरिकले नेपाल तर्फ सीमा क्षेत्रमा नै खेतिलगाएका कारण दैनिक नेपाल प्रवेश गर्न खोजेको सशस्त्र प्रहरी केचनाका इन्स्पेक्टर लोकबहादुर तामाङ्ले बताए । उनीहरु दैनिक आउने गरेको र प्रहरीले फिर्ता पठाउदैं आएको उनको भनाई छ । खुल्ला सीमा भए पनि सुरक्षा मजबुद बनाइएको उनले टेलिफोन मार्फत जानकारी दिए ।