धरान । सामान्य बेला दैनिक सवा करोडको हाराहारीमा फलफूल तथा सब्जी कारोबार हुने धरान–१३ स्थित कृषि उपज बजार स्थलमा लकडाउनको अवधिमा एकतिहाईभन्दा पनि कम कारोबार भइरहेको छ ।
सामान्य बेला दैनिक एक करोड २५ लाख रुपैयाँ बराबरको तरकारी, फलफूल र मसलाजन्य सामग्री कारोबार हुँदै आएको तथ्याङ्क बजारस्थलसँग छ । चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन पछि दैनिक ७१ टनको हाराहारीमा तरकारी, फलफूल र मसलाजन्य सामग्री बिक्री वितरण भइरहेको छ । यो आधारमा हेर्दा दैनिक ५२ लाख रुपैयाँको कारोबार भइरहेको छ । यसैलाई मासिक आधार मान्दा १५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।
सामान्य बेला मासिक ४५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार हुँदै आएको बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । हाल भइरहेकाे काराेबार सामान्य बेलाकाे काराेबारकाे आधारमा एकतिहाई मात्रै हो ।
लकडाउन यता तरकारी दैनिक ६० टन, फलफूल १० टन र मसलाजन्य वस्तु १ टन कारोबार हुँदै आएको छ । मसलाजन्यमा अदुवा, खोर्सानी, लसुन, प्याज, धनिया, बेसारलगायत पर्छ । ‘मसलाजन्य, फलफूल र तरकारीको दैनिक कारोबार हेर्ने हो भने ७१ टन हुन आउँछ’–व्यवस्थापक भट्टराईले भने । उनका अनुसार औसत दैनिक मूल्यमा तरकारीमा ३० लाख, फलफूलमा २० लाख, मसलाजन्यमा २ लाख रुपैयाँ बराबरको खरिदबिक्री भइरहेको छ ।
सामान्य बेला तरकारी, फलफूल, मसलाजन्य, खसीबोका, दलहन कारोबार हुँदै आएको थियो । अहिले खसीबोकाको कारोबार ठप्प छ । लकडाउनको अवधिमा बढीभन्दा बढी हरियो सागसब्जी कारोबार हुँदै आएको छ । यो बेला सागसब्जी तराईका जिल्ला र पहाडी जिल्लाहरूबाट आउने गरेका छन् । आलु, प्याजजन्य वस्तुहरू भने भारतबाट आउने गरेको छ ।