धरान । धरान उपमहानगरभित्रका खाद्यान्न पसलहरू शनिबारदेखि आलोपालो प्रणालीमा खोल्न दिने निर्णय भएको छ । धरान उपमहानगरमा बसेको सर्वपक्षीय छलफलले आलोपालो प्रणालीमा धरानका वडामा रहेका पसलहरू खोल्न दिने शुक्रबार निर्णय भएको हो ।

यसअघि खाद्यान्न पसल पनि निर्वाध रूपमा खोल्न पाउने व्यवस्था थिएन । सबै व्यवसायी–व्यापारीहरूको पीरमर्कालाई बुझेर नै वडाभित्र रहेका पसलहरू आलोपालो प्रणालीमा खोल्न दिने निर्णय भएको धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । उनका अनुसार पसल खोल्दा सातामा दिनका आधारमा एउटा पसलले खोलेमा अर्को पसल अर्को दिन खोल्न दिने निर्णय भएको हो । छलफलले आलोपालो खुल्ने खाद्यान्न, मासु, तरकारी पसलले अनिवार्यरूपमा मूल्य सूचि राख्नुपर्ने व्यवस्था गरेको छ ।

अनुगमन समिति सबैतिर पुग्न सक्ने अवस्था नहुने भएकाले पनि नागरिक आफै पनि सचेत रहेर नागरिकको कतव्र्य पालना गर्नका लागि बैठकले आग्रह गरेको छ । वडागत रूपमा उत्पादन भएका दूध बिक्रीका लागि पनि अनुमति दिएको छ । अन्य क्षेत्रका भन्दा पनि धरान नगरभित्र उत्पादन भएका दूधलाई बजारमा बिक्रीका लागि अनुमति प्रदान गरिएको हो ।

सर्वपक्षीय छलफलमा धरान उपमहानगरपालिका, वडाध्यक्षहरू, सुनसरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बेस क्याम्प धरानलगायत बसेर निर्णय गरेको हो । उद्योग वाणिज्यले लकडाउन अवधिमा खुल्ने पसललाई मूल्य सूचि राखेर मात्रै बिक्री गर्न आग्रह गरेको छ ।