धरान । पत्रङ्बारी सामुदायिक वन क्षेत्रबाट सखुवा प्रजातिको रुख चोरी तस्करी गर्ने क्रममा एक युवाको ज्यान गएको घटनामा धरानको तीनकुनेस्थित सेक्टर वन कार्यालयले कारबाही अगाडि बढाउने भएको छ ।

बुधबार वन क्षेत्रबाट अवैधानिक रूपमा चोरी तस्कर गर्दै गरेको समयमा धरान–४ का कुमार राईको मृत्यु भएपछि घटना बाहिरिएको थियो । लुकिछिपी काट्दै गरेका बेला सखुवा प्रजातिको रूख कटान गर्दै गरेको समयमा राईलाई रुखले लागेर गम्भीर घाइते बनेका थिए । उपचारको क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

शुक्रबार सेक्टर वन कार्यालय अन्तर्गतको पाँचकन्या सव डिभिजन वन कार्यालयले घटनाको मुचुल्का उठाएर कारबाही अगाडि बढाएको पाँचकन्या सव डिभिजनका निमित्त प्रमुख रेञ्जर ईश्वरी बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पत्रङ्बारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर आचार्यलाई इजाजत दिइ नदिएको विषयमा सोधपुछ गर्दा आफूहरूले इजाजत नदिएको जानकारी गराएकाले सोहीअनुरूप कारबाही अगाडि बढाउने गरी मुद्दा अगाडि बढाइएको छ ।

‘हिजो घटनास्थलमा पुगेर प्रकृति मुचुल्का तयार गरेका छौं, यस विषयमा समूहका अध्यक्षलाई सोधेका थियौं, उनलाई रहोबरमा राखेर मुचुल्का बनाइएको छ’ उनले भने, ‘वन ऐन २०७६ आकर्षित हुने देखियो । चोरीतस्कर गर्ने उद्देश्य स्पष्टसँग देखियो । कानून अनुसार कारबाही हुन्छ ।’

घटनामा संलग्न चार जना युवाहरूलाई घटनाका विषयमा के भएको हो भनेर सोधपुछका लागि बिहीबार नियन्त्रणमा लिएको थियो । शुक्रबार धरान–४ का वडासदस्यको रहोबरमा जुनसुकै बेला पनि प्रहरीमा उपस्थित गराउने गरी छाडिएको छ । यसका लागि इलाका प्रहरी कार्यालय धरानलाइ पनि पत्राचार गरेर त्यहाँकाे मुद्दा छिनाेफानाे भएपछि वनलाइ मुद्दा हस्तान्तरण गर्न अाग्रह गरिने रेञ्जर बाँस्ताेलाले बताए ।