यासोक, पाँचथर । पाँचथरको सुख्खाक्षेत्रका किसानले वर्षेनी खाद्य संकट भोग्दै आएका छन । खडेरी र विभिन्न प्रकोपका कारण वर्षेनी उत्पादन घट्दै जानथालेको छ । यसको असर कृषिमा आश्रित नागरिकमा परेको छ । वर्षभरीको उत्पादनबाट जीविका चलाउँदै आएका किसानलाई प्राकृतिक प्रकोपले ठूलो असर पारेको स्थानीय बताउछन् ।
वर्षेनी उत्पादन हुने मकै, कोदो, फापर, जुजेलो खडेरीका कारण नष्ट हुदै आएको छ । मुख्य बालीको रुपमा रहेको मकैमा फौजी किरा र खडेरीले प्रभावित पारेपछि स्थानीयतहरुले राहतको कार्यक्रम संचालन गर्दै आएका छन ।
यस्तो खाद्य संकट टार्न यो बर्ष भने जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकाले यो आर्थिक वर्षमा मात्रै ४ हजार घरधुरीलाई मकै र बदामको बिउ बितरण गरिएको छ । प्राकृतिक प्रकोप प्रभावित क्षेत्रको तथ्याङक संकलन गरी तुम्बेवा गाउँपालिकाले २ हजार ५ सय ९१ घरधुरीलाई मकै र बदामको बिउ बितरण गरेको हो । गाउँपालिकाले ५ वटै वडामा १ सय ७१ कुइटेल मकै र एक कुईटेल बदाम बितरण गरेको हो । क्षतिको मुल्याङन गरी कम प्रभावित र बढि प्रभावितलाई तीन केजी देखि १० केजीको दरले बिउ बितरण गर्दै आएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । गाउँपालिकाको सबै भन्दा बढि वडा नम्बर २ मा ६ सय ४५ घरधुरी र सबै भन्दा कम वडा नम्बर ४ प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
यस्तै कुम्मायक गाउँपालिकाले पनि किसानलाई मकै र बदामको बिउ बितरण गरेको छ । ५ वटा वडाका २ हजार ३ सय ५० घरधुरीलाई मकै र बदामको बिउ बितरण गरेको छ । गाउँपालिकाले खडेरी र फौजी किराको प्रकोपमा परेका १ हजार, ७ सय ७४ किसानलाई ११ हजार ४ सय केजी मकै र ५ सय ७६ घरधुरीलाई ४४ मुरी बदामको बिउ बितरण भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जनाए । सबै वडामा प्रभावित किसानको तथ्याङक संकलन गरी मकै र बदामको बिउ बितरण गरेको गाउँपालिकाले जनाएको छ ।