धरान । पहाडी क्षेत्रबाट लुकाईछिपाई रातकाे समयमा सब्जी ल्याएर बिक्री गर्ने धरान–१ का व्यवसायीको काँटा धरानको अनुगमन समितिले मध्यराति नियन्त्रणमा लिएको छ ।

कृषि बजार छेउका व्यवसायी दावा शेर्पाले शुक्रबार बिहानकाे रातकाे समयमा पहाडी क्षेत्रबाट सब्जी ल्याएर लुकिछिपी बिक्री गरेको पाइएपछि काँटा नियन्त्रणमा लिइएको हो । अनुगमन समितिका अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले राति साढे १ बजे व्यवसायी शेर्पाको नियन्त्रणमा लिन सफल भएको हो । व्यवसायी शेर्पालाई धरान उपमहानगरपालिकामा ११ बजे हाजिर हुनका लागि निर्देशन दिइएको छ ।

रातको समयमा भएकाले सब्जी जफत गर्न नसकिएकाले काँटा ल्याएर आएको उनले बताए । व्यवसायी आफूले साग लिएर आएको बताए पनि के सब्जी ल्याएको हो भन्ने विषयमा खुलेको छैन । लुकिछिपी रूपमा सब्जी ल्याएर महँगो मूल्यमा बिक्री वितरण गर्ने गरेको आधारमा रात्रिकालीन समयमा पनि अनुगमन भइरहेको उनले बताए ।

अनुगमन समितिले आज धरान–१४ को क्षेत्रमा मूल्य सूचि र बजारको अवस्थाका बारेमा अनुगमन गरेको थियो । अनुगमनमा सामान्य रूपमा केही पनि फेला नपरेको अनुगमन अधिकृत सापकोटाले जानकारी दिए ।