भद्रपुर / झापाको भद्रपुर–१० स्थित चन्द्रगढीमा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई २० हजार जरिवाना गरिएको छ । लकडाउनको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन थालेको उपभोक्ताबाट जनगुनासो आएको सूचनाकै आधारमा जिल्ला स्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले अनुगमनमा कालोवजारी गरेको खुले पछि जरिवाना गरेको हो ।
प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा खटिएको समितिले बिहीबार कम्प्लेक्समा अनुगमन गरेको थियो । कम्प्लेक्स कारोबारको खरिद तथा बिक्री खाता देखाउन नसक्दा आन्तरिक राजश्व कार्यालय मेचीले सो रकम बराबरको जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।
अनुगमन टोलीमा प्रशासन कार्यालयका अधिकृत लक्ष्मीप्रसाद खरेल, खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, आन्तरिक राजश्व कार्यालयका नायव सुब्बा बालकृष्ण दङगाल, घरेलु तथा साना उद्योगका छविलाल खतिवडा, झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्मा लगायत रहेका थिए ।
खाद्यान्न तथा कृषिजन्य वस्तुको मूल्य बढाएको गुनासो
लकडाउनको फाइदा उठाउँदै पसलहरूले खाद्यान्न तथा कृषिजन्य लगायत वस्तुको मूल्य बढाएको उपभोक्ताबाट जनगुनासो आउन थालेपछि जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।
केही दिनअघि समितिले भद्रपुरका सरस्वती स्टोरलाई विल विजक र खरिद विक्री खाता नराखेकोमा ६ हजार, लक्ष्मी भण्डारलाई ६ हजार, शिवशक्ति स्टोरलाई ३ हजार र सुप्रिम स्टोरलाई १० हजार गरी जम्मा २५ हजार जरिवाना गरिसकेको छ ।