धरान । धरान–९ आचार्यलाइनका व्यवसायी विनोद साहको पसलमा पन्ध्र दिन अगावैदेखि महँगाे मूल्यमा बिक्री गर्ने गरेको गुनासो आएको वडाध्यक्ष रत्बहादुर कट्वालले जनाएका छन् ।

गुनासोका आधारमा धरान–९ का वडाध्यक्ष रत्नबहादुर कट्वालले पटकपटक व्यवसायी साहलाई सचेत गराउँदै आएको बताए । तर, सुनुवाइ पटक्कै भएको थिएन । व्यवसायी साहलाई बारम्बार सम्झाउँदा पनि आफूले त्यस्तो गतिविधि नगरेको भन्दै पन्छिने गरेकाले बुधबार अनुगमन समितिलाई बोलाएर अनुगमन गराइएको थियो । वडाध्यक्ष कट्वाल भन्छन्, ‘१५ दिन अगावैदेखि मकहाँ उजुरी आएको हो, मैले गएर सम्झाएको पनि हो । तर, कुनै सुनुवाइ भएन ।’

अनुगमनका क्रममा व्यवसायी साहले बढीमा बिक्री गरेको बिल र किनको बिलसमेत देखाउन नसकेपछि कालोबजारी गरेको प्रमाणित हुन सकेन । पन्ध्र दिनबीचमा जोजो व्यवसायीहरूले सामान खरिद गरेका थिए । उनीहरूलाई उजुरीका लागि वडाध्यक्ष कट्वालले आग्रहसमेत गरेको बताए । तर, कसैले पनि नभनेपछि बाध्य भएर अनुगमन समिति फर्किनु परेको थियो । अनुगमनका क्रममा १२ वटा भरेको सिलिण्डर राखेको अवस्थामा भेटिएको थियो । अनुमतिबिना सिलिण्डर राखेको पाइएपछि समितिले चेतावनी दिएको छ ।

साहको पसलमा पोष्टमेन तेल कार्टुनको १५ सय रुपैयाँमा बिक्री गर्नुपर्नेमा उपभोक्तालाई लकडाउनको अवधिमा १७ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । त्यस्तै १२० रुपैयाँ प्रतिकेजी बिक्री गर्ने दाल १३० रुपैयाँसम्म बिक्री गरेको खुलेको छ । तर, बिक्री गरेको र खरिद गरेको बिल नहुँदा समस्या उत्पन्न भएको थियो ।

वडाध्यक्षले वडाभरिका खाद्यान्नमा मूल्यसूचि राख्न तीन दिने अल्टिमेटम दिँदै

वडाध्यक्ष कट्वालले धरान–९ नम्बर वडाभरिका खाद्यान्न पसलहरूलाई मूल्य सूचि राख्नका लागि तीन दिने अल्टिमेटम दिने तयारी थालेको छ । ‘सबैलाई पत्र लेख्ने काम हुँदैछ, भोलिसम्ममा सबैलाई पत्राचार गरिसक्छौं । तीन दिनभित्र मूल्य सूचि राखेको नपाइएमा कारबाही गरिने छ’ उनले फोनसम्पर्कमा भने ।

वडाले सबै पसलहरूलाई बिक्री र खरिद गरेको बिल अनिवार्य रूपमा राख्नका लागि पनि निर्देशन गर्न लागेको छ । र, सेवाग्राहीहरूलाई पनि अनिवार्य रूपमा बिल लिनका लागि आग्रह गरेको छ । अब जनताको गुनासोका आधारमा भन्दा पनि बिलका आधारमा कारबाहीको भागीदार बनाउने वडाध्यक्ष कट्वालले बताए ।