धरान  / इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरिएको छ । वडाहरुमा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरिएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।
दिनभरी काम गरेर विहान वेलुकाको गर्जो टार्नुपर्ने विपन्न वर्गका राहत वितरण गरिने बताइएको छ । संघीय सरकारले तयार गरेको मापदण्ड वमोजिमका ब्यक्तिहरुलाई राहत वितरण थालिएको हो । परिवारमा दुई भन्दा वढि संख्या हुनेलाई २० केजी चामल, दुईकेजी दाल, डेढलिटर तेल, एक केजी नुन र दुईवटा सावुन दिइने छ । दुइजनासम्म भएकालाई १० केजी चामल, एक केजी दाल,आधा लिटर तेल, एक केजी नुन र एक थान सावुन वितरण गरिदै छ । केही वडाहरुले मापदण्डमा परेका ब्यक्तिहरुलाई कुपन वितरण गरेर त्यहि कुपनका आधारमा राहत वितरण गरिरहेका छन् ।
यसअघि पहिलो चरणमा इटहरीमा २१ हजार वढिलाई राहत वितरण गरिएको छ । वन्दवन्दीको समयमा विपन्न वर्गका जनताले भोकभोकै वस्नु नपरोस भनेर उपमहानगरले राहत वितरण गरेको हो । व्यवस्थित कार्ययोजनका साथ दुरी कायम गरेर राहत वितरण गरिदै छ ।