धरान । धरान–९ गौतमपथको सब्जी मण्डीमा खुद्रा व्यावसाय गर्दै आएका हरेराम चौधरीले प्रतिगोटा ५ रुपैयाँमा खरिद गरेर थोक मूल्य भन्दै १० रुपैयाँमा बिक्री गरेको पाइएको छ ।

साना व्यवसायीहरूलाई होसलेल मूल्य भन्दै प्रतिगोटा १० रुपैयाँमा बिक्री गरेको भेटिएपछि चौधरीलाई कारबाही गरिएको छ । व्यवसायी चौधरीले कृषि उपज बजार स्थलबाट प्रतिगोटा साढे ४ रुपैयाँदेखि ६ रुपैयाँसम्ममा खरिद गरेर लगेका थिए । जसको खुद्रा मूल्य ८ रुपैयाँ प्रतिगोटा पर्न आउने धरान उपमहानगरपालिका अनुगमन समितिका सहसंयोजक नेत्र काफ्लेले जानकारी दिए ।

तर, १० रुपैयाँ प्रतिगोटा त्यो पनि ‘होलसेल’ मूल्य भन्दै बिक्री गरेको पाइएपछि नगर प्रहरीको जिम्मा लगाइएको थियो । धरान उपमहानगरको अनुगमन समितिले ५ सय वटा कागती जफत गरेको छ । र, व्यवसायी चौधरीलाई सचेत गराएर छाडिएको छ । सहसंयोजक काफ्लेले फोन सम्पर्कमा भने, ‘५ वटा कागती समितिले जफत गर्ने निर्णय गरेको छ र व्यवसायीलाई सचेत गराएर छाडिएको छ ।’

कृषि उपज बजार स्थलले हरेक दिन मूल्य सूचि सार्वजनिक गर्ने गरेको छ । उक्त मूल्य सूचिमा प्रति १०० थान कागतीको मूल्य साढे ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँ थोकमा बिक्री गर्ने भन्ने उल्लेख छ । थोकबाट खरिद गरेको उक्त कागती खुद्रामा ८ रुपैयाँसम्म बिक्री गर्न पाउँछ ।