यासोक । पाँचथरको कुम्मायक गाउँपालिका–१ वडा कार्यालयले मंगलबार मकै र बदामको बिउ वितरण गरेको छ ।

बाली लगाउने सिजन सुरु भएसँगै वडाका पाँच सयभन्दा बढी कृषकलाई बिउ वितरण गरेको हो । वडाले प्रभावित क्षेत्रका प्रतिघरधुरी ३ देखि १० केजीको दरले २४ सय केजी मकै वितरण गरिएको वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । त्यस्तै बदाम उत्पादन हुने क्षेत्रका कृषकलाई १५ मुरी बदामको बिउ दिइएको उनले बताए ।

सुख्खाक्षेत्रमा लामो समयमको खडेरीका कारण मकै र बदामको बिउ नष्ट भएको थियो । वडाले प्रभावित क्षेत्रका किसानको तथ्याङ्क संकलन गरी निःशुल्क बिउ वितरण गरेको हो । कोभिड १९ सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनलाई मध्यनजर गर्दै कृषकलाई निःशुल्क मकै र बदामको बिउ वितरण गरेको वडाले जनाएको छ ।