भद्रपुर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले सम्झौता विपरीत चामल पठाएको भन्दै गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सम्झौताअनुसार रकम नदिने निर्णय गरेको छ ।
वैशाख १० गते बसेको हल्दिबारी गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकाबाट प्रकाशित चैत २६ को सूचनाअनुसार पेस हुन आएको दरभाउ पत्र मूल्याङ्कन गर्दा सहकारीले राहत सामग्री आपूर्तिकर्ताको लागि छनौट भई दुई पक्षबीच सम्झौता भए पनि सम्झौता विपरीत भएको स्वीकारे पछि रकम कटौति गर्ने भएको हो ।
एनएमसीले रञ्जित मन्सुली राम्रो चामल दिने भनी गाउँपालिकासँग लिखित सम्झौता गरेको थियो । तर, रञ्जित मन्सुली राम्रो चामल पठाउनु पर्नेमा एनएमसीले सम्झौता विपरीत गाउँपालिकालाई सोना मन्सुली चामल पठाएको घटना सार्वजनिक भएको थियो ।
राहत सामग्री आपूर्ति गर्न कार्यादेश दिइएकोमा सम्झौताअनुसार रञ्जित मन्सुली राम्रो आपूर्ति गर्ने भनी सम्झौता भएको थियो । सम्झौता अनुसारको चामल आपूर्ति नगरी सोना मन्सुली चामल आपूर्ति गरेको र विपद्को विशेष अवस्थामा जनतालाई वितरण भई सकेपछि मात्र कार्यालयलाई जानकारी आएको थियो । सम्बन्धित आपूर्तिकतालाई मौखिक जानकारी गराई यस समितिमा उपस्थित गराई मौखिक सोधपुछ गर्दा सो समयमा सम्झौताअनुसारको चामल उपलब्ध नभएको कारणले सोना मन्सुली चामल नै आपूर्ति गरिएको हो भनी स्वीकार गरेको थियो ।
कार्यालयमा रहेको मौज्दात प्याकेट जाँच गर्दा समेत सोही पाइएकोले सम्झौतामा उल्लेख भएको रकममा प्रति किलो १० का दरले मूल्य घटाएर मात्र भुक्तानी गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले बताए । एनएमसीले सम्झौताअनुसार नै गाउँपालिकालाई चामल पठाएको भनी गाउँपालिका कार्यालयलाई ढुक्क बनाए पनि गाउँपालिकाले बाँडेको चामलको बारेमा समुदायबाटै चर्को आलोचना भएपछि मात्र एनएमसीले बदमासी गरेको कुरा जनप्रतिनिधिले थाहा पाएको लिङ्देनले जानकारी दिए ।
रञ्जित मन्सुली राम्रो चामल वितरण गर्नलाई ५० रुपैयाँ प्रति केजी चामल दिने भनी सम्झौता गरेको भए पनि एनएसमीले सम्झौताअनुसार चालम नपठाउँदा प्रति केजी १० रुपैयाँ घटाएर मात्र भुक्तानी दिने निर्णय गरेको बताए । गाउँपालिकाले गत चैत २६ गते राहत सामग्री आपूर्तिको लागि मूल्यसूचि पेस गर्ने बारेको सूचना प्रकाशन गरेको थियो ।
सूचनामा रञ्जित मन्सुली राम्रो चामल १८ हजार २१४ केजी, मुसुरो दाल ३ हजार ५३६ केजी, तोरीको खाने तेल १ हजार ७६८ लिटर, आयोडिन नुन २ हजार ५६ केजी र १२५ ग्रामको लाइफ ब्वाइ डिटल वा सो सरहको साबुन २ हजार ५३६ थान उल्लेख गरिएको छ ।
सोही सूचना बमोजिम बाह्रदशी गाउँपालिका ३ राजगढस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालयले सिलबन्दी फारम गाउँपालिकामा पेस गरेको थियो । गाउँपालिकाले खोलेको सिलबन्दी टेन्डरमा सबै भन्दा न्यून मुल्यसूचि एनएमसीले हालेको थियो । एनएमसीलाई चैत २६ गते खाद्यान्न सामग्री अपुर्तिको टेन्डर परेको थियो । एनएमसीका विनोद कडरियाले रञ्जित मन्सुली राम्रो चामल प्रति केजी ५० रुपैयाँमा दिने भनी गाउँपालिकासँग लिखित सम्झौता गरेका थिए ।
सम्झौतामा ५० रुपैयाँको दरले १८ हजार २१४ केजी चामल ९ लाख १० हजार ७ सय, मुसुरो दाल प्रति केजी ११५ रुपैयाँको दरले ३ हजार ५३६ केजीको ४ लाख ६ हजार ६४०, जय श्री तोरीको तेल १६५ रुपैयाँ प्रति लिटरको दरले १ हजार ७६८ लिटरको २ लाख ९१ हजार ७२०, आयो नुन २१ रुपैयाँ प्रति केजीको दरले २ हजार ५६ केजीको ४३ हजार १७६ र ९५ ग्रामको लाइफ ब्याई २८ रुपैयाँको दरले २ हजार ५३६ थानको ७१ हजार ८ रुपैयाँमा गरेको गाउँपालिकाको प्रशासनले जनाएको छ । राहत पाएकी हल्दिबारीकी धनकुमारी राईले राहत दिँदा त राम्रो चामल दिनुपर्नेमा ३५ रुपैयाँमा पाइने बर्खे धानको खुदी चामल दिँदा भात गिलो न गिलो भएर खानै नसकिएको बताइन् ।