धरान । अमेरिकाबासी धरानेले दुई चरण गरेर धरान उपमहानगरपालिकाले बनाएको ‘कोरोना राहत कोष’ लाई चार लाख रुपैयाँ नगद प्रदान गरेको छ ।

पहिलो चरणमा २ लाख १० हजार रुपैयाँ प्रदान गरेको अमेरिकाबासी धरानेले दोस्रो चरण अन्तर्गत मंगलबार एक लाख ९० हजार रुपैयाँ प्रदान गरेको हो । रकमको चेक धरानबाट समन्वय गरिरहेका सुधनकुमार श्रेष्ठ र पूर्ण राईले धरान उपमहानगरका नगर प्रमुख तिलक राईलाई हस्तान्तरण गरे ।

धरान बाहिर रहेका उनीहरूलाई विपद्को समयमा धरानेहरूलाई सहयोग गर्नका लागि ‘गो फण्ड मी’ संस्था गठन गर्दै रकम संकलन गर्दै आएका छन् । अमेरिकामा रहेका विजय खनाल, रोशन बास्तोला, जय श्रेष्ठ, शैलेश कसजु, विशाल मास्के, मिलन श्रेष्ठ, गेहेन्द्रराज मास्के लगायतले समन्वय गरेर रकम संकलन गरिरहेका हुन् ।

अमेरिकामा संकलित रकमलाई धरानलाई वितरण गर्नका लागि सुधनकुमार श्रेष्ठको संयोजकत्वमा समिति बनेको छ । उक्त समितिले नै नगद प्रदान गर्दै आइरहेको छ । अमेरिका बसोबास गरेर आफ्नो मातृभूमिप्रति विपद्को समयमा सहयोग गर्ने धरानेहरूलाई नगर प्रमुख तिलक राईले खुलेर प्रशंसा गरे । प्राप्त रकमलाई सही सदुपयोग गरिने उनले बताए । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण नेपाल पनि लकडाउनमा छ ।

राधे माधव समितिबाट सहयोग

नगरको कोरोना राहत कोष र फुड बैंकमा राधे माधव सेवा समिति धरानले नगद १५ हजार रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै विष्णुपादुका मन्दिर व्यवस्थापन समितिले पनि नगद १५ हजार कोरोना राहत कोष र फुड बैंकलाई उपलब्ध गराएको छ । विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अधयक्ष राजकुमार निरौलालगायत पदाधिकारीहरूले नगद नगर प्रमुख तिलक राईलाई प्रदान गरे ।

help_corona_rahat_fund (2)

समाजसेवी कृष्ण श्रेष्ठको परिवारबाट सहयोग

त्यस्तै धरान–१० निवासी समाजसेवी कृष्णप्रसाद श्रेष्ठ र उनकी धर्मपत्नी धनकुमारी श्रेष्ठले कोरोना राहत कोष र फुड बैंकलाई नगद १ लाख १ हजार ५ रुपैयाँ प्रदान गरेका छन् । मंगलबार दाता श्रेष्ठ र छोरा मिलन श्रेष्ठले नगद नगर प्रमुख तिलक राईलाई प्रदान गरे । महामारीका बेला आफूले सक्दो सहयोग गरेर विपन्न तथा दैनिक ज्यालादारी गर्ने नागरिकहरूको जीवन रक्षा होस् भन्ने दाता श्रेष्ठले अपेक्षा गरे ।

help_corona_rahat_fund (3)