कालाबञ्जार । वराहक्षेत्र–५ स्थित कालाबञ्जारको कार्की किराना पसलमा मुसुरी दालकाे मूल्य बजार मूल्यभन्दा फरक भेटिएपछि जिल्ला प्रशासनकाे अनुगमन समितिले छानबिन गर्ने भएको छ ।

खेम कार्कीले सञ्चालनमा ल्याएको कार्की किराना पसलमा बजार मूल्यभन्दा प्रतिकेजीमा २० रुपैयाँ बढी मूल्य लिने गरेको अनुगमन समितिले भेटेपछि छानबिन गर्ने भएको हो । अनुगमनमा खटिएका वराहक्षेत्र उद्योग वाणिज्य सङ्घका महासचिव जगतबहादुर कार्कीले छानबिन गरिने बताए । ‘अन्य पसलभन्दा कार्की किराना पसलमा बजार मूल्यभन्दा दालमा बढी लिएको भेटियो, हामी छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछौ’–उनले ब्लाष्टकर्मीलाई भने ।

कालाबञ्जारका सबैजसो पसलमा मूल्यमा एकरूपता भएका बेला कार्की किराना पसलमा फरक मूल्य भेटिएको थियो । यसलाई छानबिन गर्नका लागि अनुगमनमा खटिएका घरेलु तथा साना उद्योगका प्रमुख उद्योग अधिकृत विश्वेश्वर रेग्मीलाई अनुरोध गरिएको महासचिव कार्कीले जानकारी दिए । लकडाउनका बेला बजारमा खाद्य भण्डारण र मूल्य सूचिका विषयमा अनुगमन गरिएको थियो । औषधि, खाद्यान्नलगायतका पसलमा अनुगमन गर्दा मूल्यमा एकरूपता नभेटिएपछि खेम कार्कीको पसललाई छानिबन प्रक्रिया अगाडि बढाइने अनुगमनमा खटिएका अधिकारी रेग्मीले बताए । रेग्मीका अनुसार सुनसरीमा खाद्यान्नको भण्डारणको अवस्था चित्त बुझ्दो नै रहेको बताए ।

‘खाद्य पर्याप्त अवस्थामा मौज्दात रहेको भेटियो, औषधि पनि मौज्दात पाइयो, मास्क र सेनिटाइजर चाहिँ नभएको पाइयो’ अधिकृत रेग्मीले भने, ‘केही खाद्य पसलहरूमा म्याद नाघेका वस्तु भेटिएको, गोदाम व्यवस्थापन राम्रो नरहेको साथै मूल्य सूचि अद्यावधिक नभएको भेटियो । यसलाई सुधार गर्न निर्देशन दिएका छौं ।’

लकडाउनको मौकामा व्यापारीहरूले मूल्य वृद्धि गरेको गुनासोका आधारमा अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, वराहक्षेत्र नगरपाकिला, वराहक्षेत्र उवासङ्घ, र सरोकारवाला निकाय सहभागी थिए । अनुगमनमा खटिएका अधिकारीहरूले कालाबञ्जार, चक्रघट्टी बजार अनुगमन गरेका थिए । औषधि पसलहरूलाई पनि म्याद गुज्रिएका औषधिलाई छुट्टै राख्न र क्लिनिकल फोहोरलाई छुट्टाछुट्टै बाल्टिनमा राखेर व्यवस्थापन गर्न निर्देशन दिइएको वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख तथा स्थानीय बजार अनुगन समितिकी संयोजक कमला मगरले जानकारी दिइन् ।