धरान । धरान उपमहानगरको १२ नम्बर वडाले सोमबारबाट दोस्रो चरणको राहत वितरण थालेको छ ।

वडामा रहेका गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै वडाले राहत वितरण थालेको वडाध्यक्ष टङ्क राईले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा ४११ परिवारलाई राहत वितरण गर्न लागिएको छ ।

राहतका लागि सामाजिक दूरी कायम गरिएको छ भने आलोपालो प्रणालीमा मात्रै वितरण भइरहेको वडा सचिव सुशिला अधिकारी प्रसाईंले जानकारी दिइन् । पहिलो चरणमा ३१३ परिवारलाई राहत वितरण गरिएको थियो । जसमा १ सय घरपरिवारका लागि धरान उपमहानगरपालिकाले राहत दिएको थियो भने अन्यलाई वडाको संयोजनमा वितरण गरिएको थियो ।

दोस्रो चरणमा वितरण गरिने राहतमा धरान उपमहानगरपालिकाले २६८ जनालाई वितरणका लागि सामाग्री पठाएको वडा सदस्य ब्रह्मज्ञ भट्टराईले जानकारी दिए । अन्यलाई वडाले नै संयोजन गरेर वितरण गरिने भएको छ । पहिलो चरणमा छुटेका परिवारहरूलाई दोस्रो चरणमा राहत वितरण गरिने भएको छ । र, पहिलो चरणमा पाएका अतिविपन्न तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरूको पहिचान गरेर वितरण गर्न लागिएको छ ।

राहत प्याकेजमा १० केजी चामल, १ केजी नुन, एक लिटर तेल र एक प्याकेट न्यूटेला (स्वायाबिन) रहेको छ । सरकारले राहत वितरण गर्नका लागि केन्द्रबाट ७५३ वटै स्थानीय तहमा लागू हुने गरी असङ्गठित क्षेत्रमा रहेका मजदुरहरूलाई लक्षित गर्दै मापदण्ड कायम गरेको थियो । सोही मापदण्डमा रहेर सामग्री वितरण भइरहेको छ ।