भद्रपुर । भद्रपुरमा नगरस्तरीय सर्वपक्षीय बैठकले आज (मंगलबार) बाट चार घण्टा पसल खोल्न दिने निर्णय गरेको छ ।
झापाको दमक र बाह्रदशी गाउँपालिकामा दुई जना कोरोना सङ्क्रमित बिरामी फेला परेसँगै नगरमा उच्च सतर्कता बढाउनु पर्ने भन्दै नगरस्तीय सर्वपक्षीय बैठकले विभिन्न चार बुँदे निर्णय गरेको छ । बैठकले लकडाउन अवधिभर नगर क्षेत्रमा सञ्चालित किराना तथा सागसब्जी पसलहरू बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाउने, घर–घरमा घुमेर वा पसल थापेर बिक्री गर्ने व्यक्तिले अनिवार्य वडा कार्यालय, भद्रपुर नगरपालिकाका वा झापा उद्योग वाणिज्य सङ्घबाट पास लिने र ठेला भेनमा सामान बिक्री गर्दा दुई जनाभन्दा बढी जान नपाउने, सामान खरिदबिक्री गर्दा सामाजिक दूरी अनिवार्य कायम राख्नुपर्ने, नगरको टोल टोलमा विदेशबाट आएका अपरिचित वा नयाँ व्यक्ति देखिएमा तत्काल खबर गर्ने लगायतको निर्णय गरिएको छ ।
बैठकमा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, काङ्ग्रेस नगर समितिका उपसभापति ज्ञानबहादुर चौहान, राप्रपाका नगर अध्यक्ष राधा कार्की, झापा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष सन्तोष धमला, बजार व्यवस्थापन समितिका अध्यक्ष हजरत अली र वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरीलगायत सहभागी थिए ।