धरान । मूल्यसूचिभन्दा दाेब्बर मूल्यमा सब्जी बिक्री गरेको पाइएपछि धरान–१६ बाट करिब ढेड सय केजी सब्जी जफत गरिएको छ ।
धरान उपमहानगरपालिका स्तरीय तरकारी व्यवस्थापनका लागि बनेको अनुगमन समितिले सोमबार बिहान धरान–१६ भीमसेन मार्गका सन्तोष साहको पसलबाट करिब ढेड सय केजी सब्जी जफत गरिएको हो । त्यस्तै टेम्पाेमा डुलाएर बिक्री गरिरहेकाे खरबुजा पनि जफत गरिएकाे छ । साहले खाद्यान्न पसलमा लुकिछिपी रूपमा सब्जी बिक्री गरिरहेको पाइएको र त्यसमा पनि दाेब्बर मूल्यमा बिक्री गरेको पाइएपछि जफत गरिएको अनुगमनमा खटिएका अनुगमन समितिका सहसंयोजक नेत्र काफ्लेले जानकारी दिए ।
‘पसल चाहिँ खाद्यान्नको लागि मात्रै अनुमति लिएको रहेछ, लुकिछिपी सब्जी पनि बेच्दो रहेछ । तर, बढीबढी मूल्यमा’–उनले फोन सम्पर्कमा भने । उनका अनुसार २० रुपैयाँ प्रतिकेजी पाउने बन्दाकोपी ४० रुपैयाँ प्रतिकेजीसम्म बेचेको पाइएको थियो । त्यस्तै अधिकतम ४० रुपैयाँमा बेच्नु पर्ने फूलकोपी ८० रुपैयाँ प्रतिकेजी बिक्री गरिरहेको पाइएको छ । त्यस्तै आलु र प्याज पनि कृषि उपज बजार स्थलको जारी गरेको मूल्य सूचिभन्दा बढीमा बिक्री गरेको पाइएपछि जफत गरिएको उनले जानकारी दिए ।
जफत गरिएका सामग्रीहरू सबै धरान उपमहागरले राहत वितरणमा प्रयोग गर्ने भएको छ । सहसंयोजक काफ्लेका अनुसार आलु अन्दाजी ५० केजी, प्याज ५० केजी, ३० केजी बन्दाकोपी र १० केजीको हाराहारीमा फूलकोपी रहेको छ । त्यस्तै धरान–९ का लागि अनुमति प्राप्त गरेको को १ ह ६५०७ नम्बरको टेम्पोले धरानभरि डुलाएर खरबुजा बिक्री गरेको पाइएपछि नियन्त्रणमा लिइएको छ । उसले पनि अधिकतम ४० रुपैयाँ प्रतिकेजी बिक्री गर्नुपर्ने खरबुजा प्रतिकेजी ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि नियन्त्रणमा लिएर सभागृहमा पठाइएको छ । ‘अनुमति ९ नम्बर वडाको छ । तर, धरानभरि बिक्री गरिरहेको पाइयो’ उनले भने, ‘त्यो पनि मूल्यभन्दा दोब्बरमा ।’
अनुगमन समितिले धरान–१३, धरान–१६ र अहिले धरान–१८ को क्षेत्रमा अनुगमन गरिरहेको छ । धरान–१३ र धरान–१६ मा त्रुटिपूर्ण भेटिएका पसलहरूलाई पहिलो पटक चेतावनी दिएर छाडिएको छ भने मूल्य सूचिभन्दा बढी मूल्यमा बिक्री गर्नेहरूको सामग्री जफत गरिएको छ । अनुगमनमा धरान उपमहानगरका अनुगमन अधिकृत वेदप्रकाश सापकोटा, उपभोक्ता हित संरक्षण मञ्चका कृष्ण ताम्राकार, नगर प्रहरी सहभागी छन् ।