धरान । सुनसरी उद्योग वाणिज्य संघले धरानका खाद्यान्न पसलको वर्गीकरण गरेर लकडाउनको अवधिमा खोल्न दिने भएको छ ।

त्यसका लागि हरेक वडासँग समन्वय गरेर खोल्न दिने निर्णय गरिएको हो । आइतबार बसेको छलफलले वडासँगको समन्वयमा धरानका खाद्यान्न पसलको वर्गीकरण गरेर खोल्न दिने निर्णय गरिएको उवासंघका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए । वडाध्यक्षहरूबाट आएको नामावलीका आधारमा पुनः छलफल गरेर अगाडि बढिने अध्यक्ष सापकोटाले जानकारी दिए । छलफलको क्रममा धरानका केही विकट वडा ४, ५, ६ र २० नम्बरमा खाद्यान्नको अभाव भए आपूर्ति गर्नका लागि समन्वय गरिने भएको बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श्रेष्ठले जानकारी दिए ।

उनले पसल खोल्दा अनिवार्य रूपमा सामाजिक दूरी कायम गरेर मात्रै खोल्न दिने बताए । मूल्य नियन्त्रणका विषयमा भने विवाद आइरहेकाले सम्बन्धित पसलहरूले मूल्य सूचि टाँस गरेर मात्रै बिक्रीवितरण गर्नुपर्ने उनले बताए ।

छलफलमा सहभागी धरान उपमहानगरका प्रमुख तिलक राईले अहिलेको जटिल अवस्थामा व्यापारभन्दा पनि सेवामूलक भावले सामग्री बिक्री वितरण गर्न आग्रह गरे । प्रमुख राईले अवस्था हेरेर उद्योगी–व्यवसायीले बानीबेहोरामा पनि परिवर्तन गर्दै जानका लागि आग्रह गरे । कार्यक्रममा धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलगायत सहभागी रहेका थिए ।