धरान । नेपाल बसोबास बस्ती संरक्षण समाजले धरान उपमहानगरको फुड बैंकमा एक हजार केजी चामल हस्तान्तरण गरेको छ ।
विपन्न नागरिक तथा दैनिक ज्यालादारीमा खटिने मजदुरलाई लक्षित गर्दै धरान उपमहानगरले चैत १७ गते फुड बैंक स्थापना गरेको थियो । फुड बैंकमा शुक्रबार समाजले एक हजार केजी चामल उपलब्ध गराएको हो । समाजमा महासचिव कुमार कार्कीले धरान उपमहानगरका उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई चामल हस्तान्तरण गरे । महासचिव कार्कीले सुकुम्बासीहरू राहतका लागि योग्य हुँदा हुँदै पनि एकद्वार प्रणालीबाट राहत वितरण गर्नका लागि चामल हस्तान्तरण गरिएको बताए ।
चामल प्राप्त गरेपछि धरान उपमहानगरकी उपप्रमुख भण्डारीले धन्यवाद ज्ञापन गरिन् । हालसम्म धरान उपमहानगरपालिकाले पहिलो चरणमा १० हजार भन्दा बढीलाई राहत वितरण गरिसकेको छ भने दोस्रो चरणको राहत वितरण पनि सुरु भइसकेको छ । वडाबाट प्राप्त तथ्याङ्कका आधारमा नगरले राहत वितरण गरिरहेको छ ।
नेपाल सरकारले पनि राहत वितरण गर्नका लागि मापदण्ड बनाएको छ । असङ्गठित क्षेत्रमा कार्यरत मजदुरहरूको दैनिक जीविकोपार्जनमा समस्या हुने भएपछि सरकारले हरेक स्थानीय तहलाई राहत वितरण गर्नका लागि मापदण्ड बनाइदिएको हो । सरकारले चैत १९ गते मापदण्ड लागू गरेको थियो । सोही मापदण्डमा रहेर अहिले राहत वितरण भइरहेको छ । वडागत रूपमा राहत वितरणमा विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेका छन् ।