यासोक /  पाँचथरको कुम्मायक गाउँपालिकाले लक डाउनलाई थप कडाइ गर्ने भएको छ । गाउँपालिकामा काडमाण्डौ र बिभिन्न जिल्लामा अलपत्र परेका नागरिक प्रबेश गर्ने भएपछि यस्तो निणर्य गरेको हो । शुक्रबार गाउँपालिकाको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भटराइले बताए । काडमाण्डौ लगायत बिभिन्न जिल्लाबाट गाउँपालिकाबासी भित्रने भएका छन । गाउँपालिका प्रबेश गर्ने नागरिकलाई क्षमताले भ्याएसम्म क्वारेन्टाइनमा राख्ने गरी तयारी भइरहेको भट्टराइको भनाई छ ।

गाउँपालिकाको प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्ने, गाउँपालिकाको सिमा नाकामा निगरानी बढाउने, गाउँमा बिभिन्न जिल्लाबाट प्रवेश गर्नेको निगरानी गर्नेलगायतका निर्णय गरेको छ । तेह्रथुमसँग सिमा जोडिएको सिम्रपुल, लुमुघाट, साँवा सेराजस्ता नाकामा स्वायमसेवक परिचालन गरी उच्च निगरानी गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । गाउँपालिका प्रवेश गर्ने नागरिकको व्यवस्थापनको लागि सबै वडामा ७ वटा क्वारेन्टाइनको स्थापना गर्ने निणर्य गरिएको चेम्जोङको भनाइ छ ।

यसै गरी गाउँपालिकामा करुणा फाउण्डेसनले २ वटा थर्मोगन उपलब्ध गराउँने भएको छ । यस अघि बिभिन्न जिल्लाबाट गाउँपालिका प्रबेश गर्ने नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । लक डाउन लम्बिएसंगै काठमाण्डौं छोड्ने क्रम बढ्दै गएको छ । यस्तो अवस्थामा गाउँपालिकामा ४० देखि ४५ जना नागरिक काठमाण्डौबाट प्रवेश गर्ने जानकारी आएकाले व्यवस्थापनमा जुटेको गाउँपालिकाले जनाएको छ ।