विराटनगर । मोरङको विराटनगरस्थित ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु घटनामा रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक युवतीलाई नियन्त्रणमा लिएको छ । 

उनीमाथि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । गत शुक्रबार स्कुटर लिएर विराटनगर महानगरपालिका–३ स्थित घरबाट निस्किएका खत्री शनिबार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानीको जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

खत्रीका परिवारले किटानी जाहेरी दिएपछि मोरङ प्रहरीले अदालतबाट आइतबार पाँच दिनको म्याद म्याद थप गरी अनुसन्धान थालिएको जिप्रका मोरङका प्रमुख एसपी कवित कटुवालले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा झापा घर भई खत्रीको रेस्टुरेन्टमा विगत ४–५ वर्षदेखि कार्यरत २७ वर्षीया इन्दु भनिने खिलिना दाहाल छिन् । 

व्यक्तिगत सम्बन्धमा आएको उतारचढाव र रेस्टुरेन्टको आर्थिक हिसाबकिताबमा कुनै अनियमितता भए/नभएको विषयलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको एसपी कटुवालले बताए ।

दाहालले भने रेस्टुरेन्टको सम्पूर्ण हिसाबकिताब आफूले हेर्दै आएको स्वीकार गरे पनि आर्थिक अनियमितता नगरेको र खत्रीलाई कुनै पनि ‘ब्ल्याकमेलिङ’ वा तनाव नदिएको दाबी प्रहरीसमक्ष बयान गरेको प्रहरीले जनाएको छ । 

घटनाका बेला श्रीमती भारतमा रहेकी थिइन् । श्रीमती फर्किएपछि परिवारको उपस्थितिमा शव परीक्षण प्रक्रिया अघि बढाइएको थियो ।