धरान । कोरोनाभाइरस संक्रमणको आशंकामा एक सातासम्म ठप्प रहेको धरानको कृषि उपज बजार स्थलले पुनः कारोबार सुरु गरेको छ ।
कोरोना महामारी फैलिरहेका बेला सहज रूपमा उपभोक्तालाई तरकारी पु¥याउनका लागि धरानका २० वटा वडालाई ती भागमा विभाजन गरेर सब्जी वितरण गर्दै आइरहेको छ । विशेष गरेर धरानका केही वडाहरू तरकारीमा आफै निर्भर रहेका छन् । तीबाहेकका अन्य वडालाई तीन भागमा विभाजन गरेर तरकारी वितरण गर्दै आइरहेको कृषि उपज बजार स्थल धरानका बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।
आजबाट मूल्यसूचिसहित बजारले तरकारी वडागत रूपमा विभाजन सुरु गरेको हो । शुक्रबार धरानका १, २, ३, ७, ९, १०, १२, १५, १६, १७, १८ र १९ नम्बर वडाका सब्जी व्यवसायीलाई वितरण गरिएको छ । ती वितरण गरिएको वडाहरूका नागरिकहरूले सम्बन्धित वडाका सब्जी व्यापारीबाट सब्जी खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
जसमा हरेक सब्जीको मूल्यसूचिसमेत तयार पारिएको छ । मूल्यसूचिभन्दा तलमाथि बिक्री गरेको पाएमा कानून अनुसार कालोबजारी ऐन अन्तर्गत कारबाही गरिने भएको छ । भीडभाड कम गर्नका लागि पिकअपमार्फत् तरकारी बिक्रीका लागि खुला गरिएको छ । साना वडाहरूमा भने ट्याम्पुमार्फत् पनि बिक्री गर्न सकिने व्यवस्था गरिएको छ ।