धरान । अमेरिकामा बसोबास गर्ने धरानेहरूले धरान उपमहानगरपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेका छन् ।
अमेरिकामा बसोबास गर्दै आएका धरानेहरूले एक लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सहयोग जुटाउनमा धरानबाट भूमिका खेलेका संयोजक सुधनकुमार श्रेष्ठले नगद बराबरको चेक हस्तान्तरण गरे । उनले धरान उपमहानगरपालिकाका नगर प्रमूख तिलक राईलाई चेक हस्तान्तरण गरेका थिए ।
अमेरिकामा रहेका धरानेहरूले विपन्नका लागि ‘गो फण्ड’ मार्फत रकम संकलन गरेका थिए । अमेरिकामा रहेका विजय खनाल, रोशन बाँस्तोला, जय श्रेष्ठ, शैलेश कसजु, विशाल मास्केले समन्वय गरेर रकम संकलन गरेका थिए । श्रेष्ठको संयोजकत्वमा गठित समितिमा डा. राजेन्द्र शर्मा, मोहन श्रेष्ठ, सुमन श्रेष्ठ, पूर्णबहादुर राई र समिनकला राई रहेका थिए ।
अमेरिकामा बसोबास गर्दै आएका धरानेहरूको सहयोगप्रति धरान उपमहानगरका मेयर तिलक राईले धन्यवाद ज्ञापन गरे । उनले जन्मथलोलाई माया गरेकोमा नगरले धन्यवाद ज्ञापन गरेको छ । नगरले राहत कोषबाट हालसम्म १० हजार परिवारलाई पहिलो चरणमा राहत विरतण गरिसकेको छ भने दोस्रो चरणमा २० हजार घरपरिवारलाई राहत दिने तयारी थालेको छ ।
धरानमा ३ हजारदेखि ३ हजार ५ सयको हाराहारीमा मात्रै राहत लिन योग्य परिवार रहेको आँकलन गरिएको थियो । तर, वडाको सिफारिसका आधारमा आएको तथ्याङ्कले राहत समितिलाई नै झस्काएको थियो ।
(सच्याइएकाे ः यसअघि २ लाख ५० हजार सहयाेग गरेकाे भनी भूलवस समाचार प्रकाशित भएकाले सच्याइएकाे छ । -सं)