बिर्तामोड । बिर्तामोड नगरपालिकाले अब केही समयका लागि सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने भएको छ ।
माजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको बैंक खातामा नगद जम्मा गरिदिएर बैंक मार्फत भुक्तानी लिँदै आएका उनीहरुले अब केही समयसम्म घरमा नै सेवा पाउने भएका हुन् ।
सरकारले जारी गरेको ‘लकडाउन’ अवधिमा बैंकको सञ्चालन समय थोरै भएकोले सेवाग्राहीहरु समस्यामा परेको पाइएपछि यस्तो निर्णय गरिएको हो । बैंकमा पनि भिडभाड हुने भएका कारण घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने गरी काम अगाडि बढाइएको बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् ।
हाल बैंकहरुले ११ बजेदेखि १ बजेसम्म मात्र बैंकिङ सेवा दिँदै आएका छन् । लकडाउनलाई पूर्ण पालना गराउन तथा बैंकमा भइरहेको सेवाग्राहीहरुको भिडभाडलाई न्यूनीकरण गर्न वडासचिव र जनप्रतिनिधिको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न सहजीकरण गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले बताए ।