धरान । कोरोना भाइरसको महामारी फैलिएसँगै सबैभन्दा बढी प्रयोगमा आएको ह्याण्ड सेनिटाइजरको मूल्य निर्धारित नहुँदा बजारमा मनपरि मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो ।

तर, अब भने औषधि व्यवस्था विभागले ह्याण्ड सेनिटाइजरको मूल्य निर्धारण गरिदिएको छ । बजारमा गुणस्तरहीन सेनिटाइजर पनि महँगो मूल्यमा किन्नु पर्ने बाध्यता अब हटेको छ । तर, अनुगमन चुस्त नभए फेरि पनि ग्राहकहरू ठगिने सम्भावनाबाट मुक्त भने हुने छैनन् । हालै औषधि व्यवस्था विभागले तोकेको मूल्यको सूचि यस्तो छः

नर्मल ह्याण्ड रबको सेनिटाइजर

५० एमएलः ६५ रुपैयाँ

१ सय एमएलः १२५ रुपैयाँ

२ सय एमएलः २५० (प्रति एमएल १ः २५ पैसाभन्दा बढी लिन नपाइने गरी)

५ सय एमएलः ४५० रुपैयाँ

१ हजार एमएलः ६९० रुपैयाँ

२ हजार एमएलः १ हजार ३५० रुपैयाँ

५ हजार एमएलः ३ हजार रुपैयाँ

(नोटः योभन्दा माथि लिन नपाउने गरी मूल्य निर्धारण गरिएको छ ।)

ह्याण्ड रब जेलको हकमा

५० एमएलः ८० रुपैयाँ

१ सय एमएलः १४५ रुपैयाँ

२ सय एमएलः ३ सय रुपैयाँ

५ सय एमएलः ५१५ रुपैयाँ

नेपालमा कति उद्योगले उत्पादन गर्छन् ?

नेपालमा हाल २० वटा औषधि उद्योगले ह्याण्ड सेनिटाइनर उत्पादन गर्ने अथोरिटी पाएका छन् । विभागले निर्धारण गरेको मूल्यभन्दा बढी नलिने गरी उत्पादक कम्पनीहरूले सहमति गरेका छन् । सेनिटाइजरको माग ह्वात्तै बढेका कारणले पनि सर्वसुलभ मूल्यमा बिक्री गर्नका लागि विभागले उत्पादक कम्पनीहरूसँग सहमति गरिएको विभागका बरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए ।

यसबाट कृत्रिम अभाव र कालोबजारीको सम्भावना न्यून हुने विभागको दाबी छ । मूल्यमा एकरूपता ल्याउनका लागि मूल्य निर्धारण गरिएको हो । विभागले हाल नर्मल ह्याण्ड रब र ह्याण्ड रब जेलको मूल्य मात्र निर्धारण गरेको हो । मनपरि मूल्यमा बिक्री भएको पाइए कारबाहीको दायरामा समेत ल्याउने विभागले जनाएको छ ।

सेनिटाइजरमा के हुन्छ ?

सामान्यतः सेनिटाइजरमा अधिकतम ८० प्रतिशतसम्म इथेल अल्कोहल हुन्छ वा आइसोप्रोपल अल्कोहल हुनुपर्ने मापदण्ड छ । विभागले सोही मापदण्डलाई निर्धारण गरेको हुन्छ । ७० देखि ८० प्रतिशत अधिकतम अल्कोहलको मात्रा भएको सेनिटाइजरलाई मात्रै बिक्रीका लागि योग्य मानेको छ । सोभन्दा माथि भएको हकमा त्यस्ता उत्पादक कम्पनी कारबाहीको भागीदार हुन्छ ।