पथरीशनिश्चरे/मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा पर्ने मुस्लिम समुदायका २ वटा मस्जिदमा सोमबार अनुगमन् भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेतना अपनाउने सन्देश दिँदै नगरपालिका कार्यालयको अगुवाईमा वडा नम्बर ५ स्थित हसन्दहमा रहेका २ वटा मस्जिदमा अनुगमन् गरिएको हो । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा, प्रहरी चौकी कुसेका सुरक्षाकर्मी, समाजसेवीहरु समेत सम्मिलित टोलीले मस्जिद अनुगमन् गर्दा मस्जिद खाली अवस्थामा भेटिएको छ ।

मस्जिदमा अन्य देशबाट मानिसहरु यसबेला नआएको तथा दैनिक नवाज पढ्ने काम रोकिएको पाइएको अनुगमन् समिति संयोजक वास्तोलाले उल्लेख गरिन् । अनुगमन्का क्रममा कोरोनाको संक्रमण तथा बन्दाबन्दी ( लकडाउन) नहटेसम्म स्थानीयलाई धर्मावलम्बी भेला भएर नवाज पढ्ने काम स्थगित गर्न उनीहरुलाई अनुरोध गरिएको छ । उनीहरु भारतमा सम्पन्न मुस्लिमहरुको सम्मेलनमा समेत सहभागि नभएको उल्लेख छ । उदयपुरमा एकैठाउँ भेला भएर बसेका मुस्लिम समुदायका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मस्जिदहरुमा भेला भएकाहरुमाथि निगरानी बढाउँदै उनीहरुको स्वास्थ्य जाँचमा सरकारले चासो देखाएपछि आआफ्नो क्षेत्रका मस्जिदहरुमा पनि पालिकाहरुले अनुगमन् गर्न थालेको हो ।

टोलीले, वडा नम्बर ८ को सोमबारे, ४ र ८ मा पर्ने कुशलबजार, ५ र ६ को हसन्दह, ४ र ९ को शनिश्चरे चोक, १० को ऐयावारी र जिरिखिम्तीमा घरैभित्र बस्न अनुरोध गर्दै लकडाउनको कडाईका साथ पालना गर्न सम्झाइएको छ । यस क्रममा चिया पसल, होटल तथा विहान ७ देखि १० बजेबाहेक खोलिएका किराना पसललाई वन्द गराइएको छ । भिडभाड भएर तास खेल्ने, गाँजा सेवन गर्ने संस्कास्पद क्षेत्रहरुमा समेत सचेत गराइएको छ ।

साथै टोलीले, कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले काम रोकिएर समस्यामा परेका ५ जना निर्माण मजदुरलाई राहत समेत प्रदान गरेको छ । प्रदेश सरकारको योजनाको सडक निर्माण कार्यमा खटिएका र हाल काम नहुँदा खानको समस्यामा परेका वडा नम्वर ३ को कल्याणचोक पूर्वमा छाप्रामा बसेका ती मजदुरलाई २५ केजी चामल, २ केजी दाल, १ केजी नून, १ लिटर तेल र २ वटा साबुन वितरण गरिएको छ ।

यसैबीच, १० नम्वर वडाध्यक्ष सागर राईको अगुवाईमा सो क्षेत्रमा पर्ने सामुदायिक वन उपभोक्ता समूहका अगुवा, उपभोक्ता सहितको टोलीले लकडाउनको मौका छोपी वनमा हुनसक्ने काठ तस्करी र चोरी शिकारी रोक्न सोमबार गस्ती गरेको छ ।

नगरवासीलाई भोकै वस्नु पर्ने अवस्था सिर्जना हुन नदिइने 

पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दी ( लकडाउन) को समयमा कोही पनि नगरवासी भोकै वस्नुपर्ने अवस्था सिर्जना हुन नदिन आवश्यक राहतको व्यवस्था मिलाउने भएको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति’ को आजको बैठकले दैनिक ज्यालामजदुरी गर्नेहरुका लागि राहत वितरण गरिएको र थप राहत आवश्यक पर्दा त्यसको व्यवस्थापन गरी कोही पनि भोकै वस्नुपर्ने अवस्था सिर्जना हुन नदिने निर्णय गरेको हो । खाद्यान्नको अभाव भएका परिवारको यकिन पहिचान गरी वडा समितिमार्फत राहत वितरणका लागि राहत व्यवस्थापन तथा वितरण समितिले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको नगर प्रमुख एवम् ‘कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति’ का संयोजक दिलीपकुमार राईले जनाए ।