सुनसरी । सुनसरीको बराहक्षेत्रका कृषकले उत्पादन गरेको टमाटर लकडाउनका कारण बारीमै कुहिन थालेको छ । मेहेनत गरेर फलाएको टमाटरले बजार नपाए पछि बारीमै कुहिन थालेको हो ।
बराहक्षेत्र ८ मा लामो समय देखि तरकारी खेती गर्दै आएका जिल्लाकै अगुवा कृषक कर्णबहादुर कार्कीले अहिले विरक्तीएका छन । बारीमा लटारम्ब फलेको टमाटर टिप्दै बस्तुलाई दिन थालेको उनी भन्छन् कर्मले दियो भाग्यले दिएन ।
बराहक्षेत्र वडा नं ८ चौखोला चोकमा वर्षौं देखि कृषि पेशा गर्दै आईरहेका जिल्लाकै अगुवा कृषक कर्णबहादुर कार्कीले ३ कट्ठामा लगाएको टमाटर पाकेर बोटमै कुहिन थालेको छ । हाट बजार लगेर बिक्री गर्न सक्ने अवस्था नभएपछि लगानी मात्र नभई आफ्नो मेहनत समेत नउठ्ने भएपछी अहिले टमाटर बस्तुलाई दिन थालेको बताए ।
कृषक कार्कीले भने–‘लकडाउनका कारण उत्पादन भएका टमाटर बारीमै कुहिएको छ । अरुबेला व्यापारी तथा विचौलिया बारीमा नै तरकारी लिन आउने गरेका थिए । तर यसपटक व्यापारी आएका छैनन् । टमाटर बस्तुलाई खोले बनाएर खुआउँदैछौ उनले भने ।
कोरोना भाईरसको कारण सिङ्गो देश लकडाउनमा रहेका बेला आजको भोलि बेच्नुपर्ने कृषि उत्पादन बारीमै कुहिए पछी आफुहरुलाई ठूलो नोक्सान भएको र वास्तविक कृषकको पीडा आज सम्म कसैले बुझ्न नसकेको ठम्याई कृषक कार्कीको छ ।
टमाटर मज्जाले फले पनि अहिले लकडाउनले कही पुराउँन नसक्दा आफुहरुले लगानी र समय खेर गएको बताए । बर्षभरी खाने आयस्रोत्र अहिले बारीमै कुहिए पछि आफु समस्यामा परेको कार्की बताउँछन । कृषि क्षेत्रमा लामो समय देखि लागेका उनलाई यो बर्ष लकडाउनले नराम्ररी ढुबाएको छ ।
अरुबेला व्यापारी तथा विचौलिया बारीमा नै तरकारी लिन आउने गरेका थिए । तर यसपटक व्यापारी आएका छैनन् । करिव ३० कुइँन्टेल टमाटर बारीमै कुहिन लागेको उनले बताए । ‘तरकारीका लागि मौसमले त साथ दिएन–दिएन’, कृषक कार्कीले भने–‘लकडाउनले त झनै सत्यनास पार्यो । यसपटक लगानी र मेहेनत दुवै खेर जाने भयो ।’
उत्पादन गर भनेर सरकारले हौसला चाहिँ दिने तर, उत्पादन भएको वस्तु कसरी बजारीकरण गर्न सकिन्छ भन्ने कुरामा सरकारले चासो नदिने गरेको उनको आरोप छ । सरकारले कृषकले उत्पादन गरेको वस्तुको भण्डारण, बजारीकरणमा ध्यान दिन आवश्यक रहेको बताए ।
‘हामी दुःख गरेर उत्पादन गछौँ’, कार्कीले भने–‘तर वस्तुको मुल्य व्यापारी र विचौलियाले तोक्छन् । घाटा–नाफा जे भए पनि उनिहरुको मुल्य अनुसार हामीले वस्तु बिक्री गर्नुपर्छ । यस्तो कुरामा स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।’