धरान । धरान उपमहानगरले जेठसम्म पुग्ने खाद्यान्न सङ्कलन थालेको छ । कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै लकडाउन अवधि बढेमा जेठसम्मका लागि खाद्यान्न जोहोका लागि अभियान थालेको हो ।

त्यसका लागि धरानका ठूलो व्यापारी, व्यवसायीहरूलाई अपिल गरिरहेको छ । नेपालमा चैत ११ गतेदेखि शुरु भएको लकडाउन अहिले पनि जारी छ । वैशाख १५ गतेसम्म लकडाउनलाई निरन्तरता सरकारले दिएको छ । अझै बढ्न सक्ने सम्भावना पनि बढेको छ । हालसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमण भइसकेको छ । त्यसमध्ये चार जना उपचार पछि घर फर्किएका छन् । प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण देखिएको छ भने प्रदेश २ मा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोनाका कारण लकडाउन शुरु भएपछि धरानमा दैनिक ज्यालादारी र विपन्न परिवारहरूलाई धरान उपमहानगरपालिकाले खाद्यान्न वितरणका लागि ‘फुड बैंक’ स्थापना गरेको थियो । जसअन्तर्गत करिब ११ हजार घरपरिवारलाई राहत वितरण भइसकेको छ । वडागत तथ्याङ्कका आधारमा राहत वितरण गरिएको हो । लकडाउनको स्थिति यही रहेमा थप राहत वितरण गर्नुपर्ने अवस्था सिर्जना भएका कारण पनि धरानका ठूला व्यापारीहरूलाई सहयोगको लागि अपिल गरिएको धरान उपमहानगरका प्रमुख तिलक राईले जानकारी दिए ।

उनका अनुसार धरानका ठूला व्यापारी तथा व्यवसायीहरूले हालसम्म पनि भनेजस्तो सहयोग आएको छैन । के कति कारणले नआएको हो भन्ने विषयमा अन्यौलता रहेको छ । राहत वितरणका लागि नगर प्रमुख राईकै संयोजकत्वमा समिति बनेको छ । खाद्यान्न खरिदका लागि स्थानीय सरकारले ठेक्का आह्वान गरिसकेको उनले बताए । धरान उपमहानगरले कोरोना राहत कोषसमेत खडा गरेको छ । चैत १९ गते राहत कोष खडा गरिएको हो भने चैत १७ गते फुड बैंक स्थापना गरिएको थियो । राहत वितरणमा एकद्वार प्रणाली अपनाउनका लागि फुड बैंक स्थापना गरिएको थियो ।

सरकारले पनि चैत १९ गते असङ्गठित क्षेत्रमा कार्यरत मजदुरहरूका लागि राहत वितरण गर्ने मापदण्ड नै सार्वजनिक गरिसकेको छ । सोही मापदण्डका आधारमा राहत वितरण गरिसकिएको छ ।