यासोक । देशमा लामो समयदेखि लकडाउनको अवस्थामा  सहर बजार बन्दाबन्दीको अवस्थमा छ । दैनिक व्यस्त हुने सडकहरु सुनसान छन । बजार क्षेत्रमा त्राश र भय छ । सहरबाट व्यवसाय बन्द गरेर मानिसहरु गाउँ जाने क्रम बढ्दो रुपमा छ । तर ग्रामिण क्षेत्रमा भने कुनै भय र त्राश छैन । दैनिक जीवन यापनमै किसानहरु व्यस्त देखिन्छन । खेतीको सिजन भएकाले मकै छर्ने, बारी जोत्ने र अदुवा

रोप्ने किसानलाई चटारो छ । मानै गाउँमा केही भएकै छैन । सबै आ–आफ्नो काम व्यस्त छन । सरकारले सामाजीक दुरी कायम गर्नुपर्छ भन्ने नियम गाउँमा लागु भएको छैन । खेतीपातीको सिजन भएकाले समुहमा मिलेर काम गर्ने प्रचलन छ । सहरको चहलपल गाउँमा बाक्लिएको छ । किसानको दैनिकी बर्षेनी यसरी नै हुने गरेको छ ।

कोरना भाइरस कोभिड १९ को त्राश विश्वभर फैलिरहेका बेला गाउँमा फुर्सद निकाल्न गाह्रो हुने गरेको किसानको भनाई छ । खेतीको सिजन छ । वर्षभरी खाने अन्न लगाउँने बेला आएको छ कुम्मायक ५ का स्थानीय हरिप्रसाद थापाले सुनाए । दैनिक काम काजमा व्यस्त भएपनि सरसफाइमा ध्यान दिनुपर्छ भन्ने कुरा संचार माध्यमले भन्दै आएको उनले बताए ।

यति बेला पाँचथर सहित पूर्विपहाड र तराइमा खेतीको सिजन छ । पहाडमा मकै लगाउन नागरिकहरु व्यस्त हुने गरेका छन । गाउँमा भएका चोक, खेलमैदान, पसलमा दिन भरीको काम सकेर जम्मा हुने गरेको संख्या पनि कम छैन । यसले गर्दा उच्च जोखिम बढ्न सक्छ । यस्तो अवस्थामा स्थानीयतहले ग्रामिण क्षेत्रमा उच्च सतर्कता अपनाउँनु पर्ने स्वास्थ्य कर्मीहरुले बताएका छन ।

किसानलाई काम गर्दा दुरी कायम गर्ने, सरसफाइमा ध्यान दिने, र गाउँमा नयाँ मानिस भेटिएमा प्रसाशनमा जानकारी दिन स्थानीयतहले सचेतना फैलाउँनु आवश्यक देखिन्छ । माहामारी र प्रकोपमा धेरै हतसम्म सहर भन्दा गाउँ सुरक्षित हुन्छ । त्यसैले पनि गाउँमा भय र त्राश बिनै कृषि कर्ममा किसान व्यस्त भएका कुम्मायक ३ का वडा अध्यक्ष रामप्रसाद गजुरेलले बताए ।

सहर बजार बन्द हुदा तमोर तटीय क्षेत्रमा स्थानीय लुकी छिपि पुग्ने गरेका छन । समुह बनाइ तमोर किनारमा बस्ने, घुम्ने र तमोरका माछा खान पुग्ने गरेको नाम नबताउँने सर्तमा एक स्थानीयवासीले सुनाए । यस्तो अवस्थामा सबैले सावधानी अपनाउँनु पर्छ । नियम पालना नगर्ने नागरिकलाई सरकारले कारभाही गर्नुपर्ने उनको सुझाब छ ।