धरान । भारतको राजधानी दिल्लीस्थित एक अस्पतालमा कोरोना संक्रमितहरूको उपचारमा खटिएका दुई जना डाक्टरमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

दिल्लीको आरएमएल अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोनाको संक्रमण (पोजेटिभ) देखिएको हो । उनीहरू दुवैलाई त्यही अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको सम्पर्कमा आएका अन्य चिकित्सक तथा मानिसहरूको पनि ‘ट्रेस’ गर्न थालिएको छ । यसअघि पनि दिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा एक चिकित्सक र एक जना नर्समा पनि कोरोनाको संक्रमण देखिएको थियो ।

त्यसबेला अस्पतालले बाहिरबाट कोरोनाको संक्रमण अस्पतालमा आएको दाबी गरेको थियो । भारतको मध्यप्रदेशमा एक जना फिजिसियनको कोरोनाकै कारण मृत्यु भएको थियो । उनी झोपडपट्टि क्षेत्रमा बस्दै आएका थिए । पछिल्लो समय दिल्लीका विभिन्न अस्पतालका ३९ जना चिकित्सकहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोनाका कारण दिल्लीमा २८ जनाको ज्यान गइसकेको छ । दिल्ली सरकारले दिल्लीको ४७ स्थानलाई ‘रेड जोन’ को रूपमा घोषणा गरिसकेको छ । मंगलबार स्वास्थ्यमन्त्री सतेन्द्र जैनले १० जनाभन्दा बढी कोरोनाको संक्रमित भएको क्षेत्रलाई रेड जोन घोषणा गरिएको बताए । तर, पछिल्लो समय भने दिल्ली सरकारले ३ जनाभन्दा बढीमा कोरोनाको संक्रमण देखिने बित्तिकै रेड जोन घोषित गरिन थालिएको स्वास्थ्यमन्त्री जैनले बताए ।

दिल्लीमा हालसम्म १५ सय जनामा कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ । भारतमा हालसम्म १० हजार ७५२ जनामा कोरोनाको संक्रमण भइसकेको पुष्टि भएको छ भने ३६१ जनाको ज्यान गइसकेको छ ।