उदयपुर । उदयपुरको दुई सामुदायिक वनले राहत वितरण गरेको छ ।
त्रियुगा नगरपालिका–७ स्थित कौवाई र पश्चिम खहरे सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा आफ्ना एक सय ९९ घर परिवारलाई मंगलबार राहत वितरण गरेको हो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नेपालमा देखा परेपछि त्यसको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले देश लकडाउन गरेपछि आफ्ना उपभोक्ताहरूलाई भोकमरीबाट बचाउन राहतको रूपमा खाद्यान्न वितरण गरेको सावउले जनाएको छ ।
स्थानीय सरकार, वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघसँग समन्वय गरी कौवाईका ९४ र पश्चिम खहरे सावउको १ सय ५ घरलाई राहत वितरण गरेको कौवाई सावउका सचिव राजकुमार कार्कीले बताए । राहत स्वरूप चामल, दाल, तेल र नुन वितरण भएको छ । समूहमा वनको आम्दानी रकम मध्येको ‘गरिबी निवारण, वन संरक्षण’ शीर्षकमा छुट्याएको रकमबाट राहत वितरण गरेको उनले बताए ।
जनप्रतिनिधि, वन कार्यालय, वन महासंघका प्रत्यक्ष निगरानीमा समूहले राहत वितरण गरेको सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बताए । जिल्लाका अन्य समूहहरूले खाद्यान्न वितरण गर्दै आएको छ भने बाँकी रहेकाहरूले पनि वितरण गर्ने तयारीमा रहेको उनले बताए ।
अहिलेको विशेष परिस्थितिमा वन समूहले खाद्यान्न वितरण गर्नु समूहको आम्दानीको रकम सदुपयोग भएको वन कार्यालयले जनाएको छ । वन समूहले खाद्यान्न वितरण गरेपछि नगरपालिकाको राहत वितरणमा टेवा पुगेको नगरपालिको जनाएको छ । लामो समयसम्मको लकडाउनले नाजुक परिवारमा खाद्यान्न संकट हुन थालेको थियो । तर राहतले खाद्य अभाव टरेको उपभोक्ताहरू बताउँछन् ।